कृषि र पर्यटनलाई जोडेर आवधिक योजना निर्माण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कृषि र पर्यटनलाई जोडेर आवधिक योजना निर्माण


११ कार्तिक २०८०, शनिबार


बलेवा (बागलुङ) ।  नगरपालिकाभित्र कम्तीमा १० वटा गौरवका आयोजना सञ्चालन गरेर आन्तरिक आय बढाउने र रोजगारी प्रवर्द्धन गर्ने लक्ष्यसहित बागलुङ नगरपालिकाले आवधिक योजना बनाएको छ । 

पाँच वर्षका लागि बजेटसहितको कार्यक्रम र २० वर्षसम्मका दीर्घकालीन योजना समावेश गरेर योजना बनाइएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

नगरका धार्मिक तथा पर्यटकीय गन्तव्य जोड्ने कोरिडोर निर्माण गर्ने योजनामा उल्लेख छ । पर्यटन प्रवर्द्धन हुँदा स्वतः रोजगारीका अवसर सिर्जना हुने योजना बनाइएको हो । 

शिक्षा र स्वास्थ्यको गुणस्तर बढाउने, शतप्रतिशत संस्थागत सुत्केरी गराउने, प्रत्येक वडामा आधारभूत सेवासहितका स्वास्थ्य संस्था स्थापना गर्ने एवं ५० श्ययाको नगर अस्पताल र धौलागिरि अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने योजना छ । 

ग्रामीण क्षेत्रबाट बसाइँसराइ रोक्न पक्की नगर चक्रपथ निर्माण गरिने पनि योजनामा छ । 

यसअघिको चक्रपथले सबै वडा समावेश नगरेकाले बाहिरी चक्रपथको योजना अगाडि आएको हो । 

छिमेकी पर्वत, म्याग्दी र मुस्ताङलाई समेत समेट्ने पर्यटन मार्गसमेत बनाउने लक्ष यी योजनामा राखिएको छ । 

“एउटा पर्यटकले एउटै खर्च र समयमा चार जिल्ला घुम्ने प्रकारको रुट र पर्यटकीय प्याकेजका गन्तव्य बनाउने हो”, नगरप्रमुख श्रेष्ठले भने, “मुस्ताङका जनप्रतिनिधिसँग छलफल भइसक्यो, पर्वत र म्याग्दीका जनप्रतिनिधिको छलफल राख्दैछौँ ।” पर्यटन रुट निर्धारण गरेर प्याकेजमा लैजान सकेमा कृषि तथा गैरकृषि क्षेत्रको रोजगारी पनि बढ्ने नगरप्रमुख श्रेष्ठले बताए । 

होटेल व्यवसाय, जिप तथा ट्याक्सी र कृषिको व्यावसायिकीकरणमा रोजगारी बढाउन सकिने उनको तर्क छ । 

यस योजनाले बीस वर्षसम्मको दीर्घकालीन योजना पनि अगाडि सारेको छ । 

त्यसमा कालीगण्डकी कोरिडोरले चीन र भारतको व्यवसाय गर्दा यहाँको बलेवा क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण गर्ने योजना छ । 

त्यसका लागि अहिलेदेखिनै सडकका मापदण्ड निर्धारण, जग्गा व्यवस्थापन र यहाँको बलेवा विमानस्थल सञ्चालनका महत्वकांक्षी योजना छन् । 

कोरिडोरलाई आधार बनाएर ग्रामीण बस्तीमा आवासीय क्षेत्र बनाउन स्तरीय शाखा सडक निर्माण, पदमार्ग तथा धार्मिक र ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवर्धन गर्ने आर्थिक विकास समितिका संयोजक नारायण शर्मा पौडेलले बताए । 

बागलुङ कालिका, शालग्राम सङ्ग्रहालय, पञ्चकोट, कुवेरधाम, मालिका हुँदै संसारकोटको धार्मिक पदमार्ग तथा सडक मार्ग बनाइने योजनामा उल्लेख छ । 

त्यस्तै प्रसिद्ध भैरवस्थान, भकुण्डे, सिगाना, बौद्ध गुम्बा हुँदै चापाखर्क जोड्ने अर्को पहाडी मार्ग बनाइने छ । 

हिमाली शृङ्खला हेर्दै पदयात्रा गर्ने यो मार्ग उपयोगी हुनेछ । यसअघि यो खण्डमा अमेरिकाका भेगन समूहले पनि भ्रमण गरेका छन् । 

पहाडी टे«किङ तथा पर्यटकीय दृष्टिले यो क्षेत्र उपयोगी भएको वडा नं ८ का अध्यक्ष छमबहादुर कार्कीले बताए । 

आवधिक योजनामा एकीकृत तथा आवासीय विद्यालय बनाउने र गुणस्तर विकास गरी शैक्षिक गन्तव्य बनाउने लक्ष छ । 

चौवालीस प्रतिशत मात्रै रहेको खाद्य सुरक्षा बढाएर ६० प्रतिशत पुर्‍याउने, तरकारी, मासु र अण्डामा आत्मनिर्भर नगर बनाउने तथा ढुङ्गाजन्य वस्तुको निकासी गर्न सक्ने बनाउने योजना छ । 

त्यसका लागि वस्तुपरक योजना बनाइएको श्रेष्ठले जानकारी दिए । 

यी योजना सम्पन्न गर्न नगर तथा सङ्घीय सरकारको अनुदानमा आउने नियमित बजेट झण्डै रु. १४ अर्ब खर्च हुनेछ । 

त्यसबाहेक केही पूर्वाधार र योजनामा निजी क्षेत्रको साझेदारी खोजिने योजनाको मोडल छ । 

गैरआवासीय नेपाली तथा ठुला व्यवसायीलाई लगानीमैत्री वातावरण बनाइदिने, सडक, खानेपानी र विद्युतीकरण गरेर उद्योग तथा व्यवसाय सञ्चालनमा साथ दिने योजनासहित ‘मेरो बागलुङ, समृद्ध र सुखी बागलुङ’ नारासमेत तय गरिएको श्रेष्ठले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस