मेलम्चीमा खानेपानी समस्या समाधान हुँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मेलम्चीमा खानेपानी समस्या समाधान हुँदै


११ कार्तिक २०८०, शनिबार


सिन्धुपाल्चोक । मेलम्ची भन्ने बित्तिकै खानेपानीको मुहान भनेर चिन्ने गरेपनि मेलम्ची बजारकै नागरिकले खानेपानीको अभाव झेल्दै आएका थिए । 

अब भने मेलम्ची नगरपालिका-११ मेलम्ची बजारका स्थानीयवासीले वर्षौँदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान हुने भएको छ । 

बजारका घरमा खानेपानीको धारा जडान गरेर खानेपानीको सुविधा पुर्‍याउने गरी योजना सञ्चालन भएपछि खानेपानीको समस्या समाधान हुनेमा स्थानीय ढुक्क भएका छन् । 

विसं २०७० भन्दा अघिदेखि योजना सञ्चालन भए पनि विविध कारणले सम्पन्न हुन नसकेको बजार खानेपानी योजना यतिखेर अन्तिम चरणमा पुगेको वडा नम्बर ११ का वडाध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिए ।

अहिले बजारको तीन सय १० घरधुरीलाई पानी वितरण गर्ने गरी काम भइरहेको तामाङले बताए । 

खानेपानी तथा सरसफाइ कार्यालय सिन्धुपाल्चोकले ट्याङ्की निर्माण गरे पनि बजारसम्म पानी पुर्‍याउन सकिएको छैन । 

सङ्घीय खानेपानी कार्यालय भक्तपुरबाट कटुञ्जे बढरे खोला मुहानमा इन्टेक निर्माण, मुख्य पाइपलाइन व्यवस्थापन र मुहान संरक्षणका काम गरेपछि बजारमा खानेपानीको योजना पुनः सञ्चालनमा आएको वडाध्यक्ष तामाङले बताए । 

आर्थिक वर्ष ७८/७९ मा जिल्ला समन्वय समिति सिन्धुपाल्चोक र मेलम्ची नगरपालिकाको साझेदारीमा रु ४० लाख बजेट विनियोजन भएको थियो । 

आब ७८/७९ मा बजेट विनियोजन भए पनि ७९/८० मा खरिद प्रक्रियामार्फत खर्च गरिएको हो । 

सो बजेटबाट मुहानदेखि बजारसम्म पानीको पाइप बिच्छ्याउने काम भएको वडाध्यक्ष तामाङले बताए । 

आब ८०/८१ मा नगरपालिका आफैँले रु. १० लाख बजेट विनियोजन गरेर पाइप वितरणको काम गरेको तामाङको भनाइ छ ।

नगरपालिकाले बजार खानेपानीको लागि बजेट हालेपछि अहिले घरघरमा पानी पुर्‍याउन पाइप बिच्छ्याउने काम अन्तिम चरणमा पुगेको हो । 

नगरपालिकाको सबैभन्दा ठूलो बजारको रूपमा रहेको मेलम्चीमै पानीको अभाव भएपछि विशेष महत्वका साथ काम भइरहेको नगरप्रमुख आइतमान तामाङले बताए । 

इन्द्रावती, पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिकाको समेत केन्द्र रहेको मेलम्ची बजारको खानेपानीको समस्या समाधान गर्नु नगरको मुख्य जिम्मेवारी रहेकाले अहिले तीव्र गतिमा काम भइरहेको र अब छिट्टै खानेपानीको समस्या समाधान हुने उनले बताए । 

स्थानीय तह आएको पहिलो वर्षनै स्थानीयका घरघरमा चौबिसै घण्टा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य लिइए पनि केही प्राविधिक समस्याका कारण समय लम्बिएको बताउने गरिएको छ । 

बजारका नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले विसं २०७० देखिनै काम सुरु भए पनि अहिले योजनाले मूर्तरूप लिन लागेको हो ।

“हामी प्राविधिकरुपमा देखिएको समस्याको पहिचान गर्दै पानी वितरण परीक्षण पनि गरिरहेका छौँ, आयोजनाको काम छिट्टै सक्ने योजनामा छौँ”, वडाध्यक्ष तामाङले भने । 

हाम्रो उद्देश्य भनेकै बजारको खानेपानीको समस्या अन्त्य गर्ने हो । 

आयोजनाको भण्डारण ट्याङ्की निर्माण र पाइप ओछ्याउनेलगायतका भौतिक पूर्वाधारको सम्पूर्ण काम सम्पन्न भइसकेको छ । 

भौतिक पूर्वाधार निर्माणको काम सकिएपछि परीक्षणस्वरुप हालै मेलम्ची बजारमा पानी झारिएको छ भने पानी वितरणका लागि व्यवस्था गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम भइरहेको छ । 

मुख्य तथा अन्य पाइपलाइनमा प्रेसर जाँच गर्दै धमाधम घरमा धारा जडानको प्रक्रियासमेत भइरहेको छ । 

आयोजना सम्पन्न भएपछि बजारमा पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाइने मेलम्ची नगर उपप्रमुख उमा प्रधानले बताए । 

“अब केही समयमै बजारका नागरिकले स्वच्छ खानेपानी पाउँदैछन्, यो सुखद् पक्ष हो”, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस