नवदुर्गामा मौलाकालिका पुगे हालसम्मकै धेरै भक्तजन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नवदुर्गामा मौलाकालिका पुगे हालसम्मकै धेरै भक्तजन


११ कार्तिक २०८०, शनिबार


चितवन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिरमा यस वर्षको नवदुर्गामा पहिलेका वर्षहरूभन्दा धेरै भक्तजन पुगेका छन् । 

मन्दिर व्यवस्थापन समितिका अनुसार यस वर्ष पहिलेको भन्दा भक्तजनको ठूलो सङ्ख्यामा भीड लागेको हो । 

दसैँको नवदुर्गा सुरु भएदेखि मौलाकालिका दर्शन गर्न जाने क्रम बढेको हो । 

पहिले गैँडाकोटबाट माथि मन्दिरसम्म हिँडेर जानुपर्नेमा अहिले मन्दिरसम्म पुग्नका लागि केबलकार निर्माण भएपछि सहज भएको हो । 

अघिल्ला वर्षहरूमा मन्दिरमा बिहानको समयमा मात्र भक्तजन जाने गरेको भए पनि यस वर्ष साँझसम्म नै गएका थिए । 

ज्येष्ठ नागरिक, अपाङ्गता भएका एवं अशक्तसमेत केबलकार चढेर मन्दिर पुग्ने गरेका छन् । 

चितवनमा दिउँसोको गर्मी समयमा उकालो हिँड्न कठिन हुने भएकाले बिहान मात्र मन्दिरमा भीड हुने गरेकोमा अहिले साँझसम्म नै भक्तजन जाने गरेको पाइएको छ । 

धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार यस वर्ष नवदुर्गा लागेसँगै भक्तजनको सङ्ख्या बढेको छ । 

यस वर्ष नवदुर्गा लागेपछि र त्यसअघि पनि गत वर्षहरूका तुलनामा झण्डै ३० प्रतिशत भक्तजन बढेको उनले बताए । 

पहिले पहिले हरेक वर्ष १० प्रतिशतको हाराहारी दर्शनार्थी बढ्ने गरेकामा यस वर्ष केबलकार सेवा उपलब्ध भएसँगै थप २० प्रतिशत भक्तजन बढेको उनले बताए ।

फूलपाती, अष्टमी र नवमीमा मात्र २५ हजार भक्तजन मन्दिर पुगेका उनको अनुमान छ । 

यसमध्ये सबैभन्दा बढी फूलपातीका दिन नौ हजारको हाराहारीमा भक्तजन त्यहाँ पुगेका उनले बताए । उनले भने, “केबलकार बनेपछि सहजताका कारण भक्तजनको सङ्ख्या पनि बढेको हो ।” 

यो सङ्ख्या हालसम्मकै बढी भएको उनी बताउँछन् । 

कार्यालय बन्द भएपछिको पहिलो दिन भएकाले फूलपातीका दिन भक्तजनको निकै भीड थियो । 

उनले आज कोजाग्रत पूर्णिमाका दिन पनि भक्तजनको निकै भीड लाग्ने अनुमान गरिएको बताए। 

यहाँ हालै सञ्चालनमा ल्याइएको केबलकार र अरु दुई वटा बाटोबाट भक्तजन मन्दिर पुग्ने गर्दछन् । 

तर पछिल्लो समयमा केबलकार चढेर मन्दिर जानेको सङ्ख्या धेरै छ ।  

घटस्थापनाको दिनदेखि क्रमशः भक्तजन बढ्दै गएका हुन् ।  

नवदुर्गा सुरु भएसँगै बिहान ५ बजेदेखि नै केबलकार सञ्चालनमा ल्याइएको छ । 

अन्य समय शनिबार ५ः३० र अन्य दिन ६ बजेबाट साँझसम्म केबलकार सञ्चालन हुने गरेको छ ।  

केबलकार चलेपछि अन्य दिनमा पनि पहिलेको भन्दा भक्तजन २५ प्रतिशतले बढेका उनले जानकारी दिए । 

अन्य समयमा शनिबार एक हजार पाँच सयको हाराहारीमा भक्तजन मन्दिर दर्शनका लागि पुग्ने गरेका छन् । 

अन्य दिन भने यो सङ्ख्या पाँच सयको हाराहारी हुने गर्दछ ।

बिदाका दिन र पर्व विशेषमा भने भक्तजनको सङ्ख्या बढ्ने गर्दछ । 

उनले भने, “बिहान ११ बजेपछि आउने प्रायः भक्तजन केबलकारकै कारण आएका हुन् ।” दिउँसोको समयमा गर्मी हुने भएकाले पैदल भक्तजन कम हुने गर्दछन् । 

बिहानीको समयमा केबलकारसँगै पैदलै भक्तजन मन्दिर पुग्ने गर्दछन् ।

मौलाकालिका केबलकार लिमिटेडका स्टेसन म्यानेजर सुरज पौडेलका अनुसार वैशाख महिनामा २५ हजार व्यक्ति केबलकार चढेर मन्दिर पुगेका थिए । 

यो सङ्ख्या जेठमा २६ हजार थियो भने असार र साउनमा केही घटेको थियो । 

विजयादशमी सुरु भएसँगै केबलकार चढ्नेको सङ्ख्या बढ्दै गएको छ । 

फूलपाती र नवमीका दिन चार हजार हाराहारीले केबलकार चढेको उनले जानकारी दिए । 

घटस्थापनायता दैनिक सरदर केबलकार चढ्नेको सङ्ख्या दुई हजारभन्दा बढी छ । 

केबलकारको दूरी पाँच मिनेटको छ । केबलकारबाट झरेपछि केही मिनेटको पैदलयात्रा गरी मन्दिर पुग्न सकिन्छ । 

केबलकार सञ्चालनमा आएको थाहा पाएपछि गैँडाकोट नगरपालिका-५ का ९५ वर्षीय गोकुल शाह पनि मन्दिरको दर्शन गर्न पुगेको बताए । उनले भने, “मन्दिर आउने रहर पूरा भयो । 

म चाहेर पनि मन्दिरसम्म आउन सकेको थिएन, केबलकारले नै यो इच्छा पूरा गरिदियो ।” शाह यही गत बिहीबार मन्दिर पुगेका थिए । 

यस्तै ओखलढुङ्गाबाट मौलाकालिका मन्दिरको दर्शन गर्न आएका मोतिलाल पोख्रेलले पनि आफू सहजै मन्दिर पुगेको बताए । 

पचासी वर्षीय पोख्रेल पनि यही कात्तिक ६ गते सोमबार मन्दिरको दर्शनका लागि आएका थिए । 

मन्दिरका बारेमा धेरै सुनेको तर मौलाकालिका मन्दिरसम्म पुग्न सक्छु भन्ने नलागेपछि नआँटेको उनले बताए ।

केबलकार बनेसँगै नवलपरासी, चितवन, तनहुँलगायत छिमेकी जिल्ला र बाहिरी जिल्लाबाट घुम्न आएका पर्यटक मन्दिर पुग्ने गरेका छन् । 

मन्दिरमा बिहान ५ बजेअघि र साँझ घाम डाँडामा पुगेपछि आरती गर्ने गरिन्छ । 

मन्दिरसँगै सञ्चालनमा रहेको मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलमका ३२ जना र पुजारी कर्मचारीसँगै भक्तजनले आरती गर्ने गर्दछन् । 

अहिलेको मन्दिर विसं २०५३ मा बनेको भए पनि मन्दिरको इतिहास भने विसं १५७५ देखिकै छ । 

करिब पाँच सय वर्ष पहिले पाल्पा राज्यको सैनिक टुकडीले मौला राखेर शक्तिपीठको पूजा गर्ने भएकाले मन्दिरको नाम मौलाकालिका राखिएको किंवदन्ती छ । 

करिब २० वर्षयता मात्रै मन्दिरमा भौतिक संरचनाको विकास गरेर भक्तजन भित्र्याउन थालिएको हो ।

मौलाकालिका शक्तिपीठको दर्शन र पूजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । 

यही आस्थाका कारण नेपालका विभिन्न जिल्लाबाट पूजाआजाका लागि भक्तजन यहाँ आउने गरेका छन् । 

प्रायः शनिबार र चितवनको गर्मीका कारण धेरैजसो बिहानको समयमा यहाँ दर्शनका लागि मानिस आउने गरेकामा अहिले भने दिउँसो पनि आउने गरेका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस