इजरायलमा मारिएका गणेश नेपालीको दाहसंस्कार « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

इजरायलमा मारिएका गणेश नेपालीको दाहसंस्कार


१० कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । इजरायलमा मारिएका जयपृथ्वी नगरपालिका-११ का गणेश नेपालीको दाहसंस्कार गरिएको छ । हमास विद्रोहीको आक्रमणमा परी अक्टोबर ७ तारिखमा मृत्यु भएका गणेशको शुक्रबार भोपुरस्थित सेती नदी किनारमा दाहसंस्कार गरिएको हो ।

उनको शवयात्रामा जिल्लाका जनप्रतिनिधिलगायत विभिन्न क्षेत्रका मानिसहरू सहभागी थिए । धनलाल नेपाली र लक्ष्मी आउँजीका छोरा गणेश २०५५ सालमा जन्मिएका थिए । उनी पढाइमा अब्बल थिए । उनका चार दिदी, एक दाजु र दुई भाइ छन् ।

चितवनको प्रेरणा कलेजबाट छात्रवृत्तिमा आईएस्सी पास गरेका उनी टिकापुर बहुमुखी क्याम्पसमा छात्रवृत्तिमै कृषि विज्ञानमा स्नातक पढिरहेका थिए । आठौँ सेमेस्टरको इन्टर्नसिप गर्न उनी गत भदौमा इजरायल गएका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर बहुमुखी क्याम्पसको कृषि सङ्कायतर्फ स्नातक तह अन्तिम वर्षमा अध्ययनरत ४९ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । गएको एक महिना नबित्दै केही विद्यार्थीहरू इजरायलमाथि हमासले गरेको क्रूर आक्रमणको सिकार भए । उक्त आक्रमणमा गणेशसहित १० जना नेपालीको मृत्यु भइसकेको छ भने एक जना विद्यार्थी विपिन जोशी अझै सम्पर्कविहीन छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस