राष्ट्रपतिले लगाइदिए कर्मचारीसहित उच्चपदस्थ अधिकारी र सर्वसाधारणलाई टीका « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

राष्ट्रपतिले लगाइदिए कर्मचारीसहित उच्चपदस्थ अधिकारी र सर्वसाधारणलाई टीका


७ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरूलाई दशैँको टीका लगाइदिएका छन् ।

मङ्गलवार राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति पौडेलले आम सर्वसाधारणहरूलाई नेपालीहरूको महान् चाड बडा दशैँको उपलक्ष्यमा टीका लगाइदिएका छन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सांसदहरु, नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू, नेपाल सरकारका सचिवहरू, नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरूलाई टीका लगाइदिएका थिए  ।

राष्ट्रपति पौडेलले विजया दशमीको दिन विशिष्ट व्यक्तिकासाथै आम सर्वसाधारणलाई पनि विजया दशमीको टीका लगाइदिएका छन् । आज दिउँसो २ बजेदेखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टिका तथा जमरा लगाइदिएका हुन् । टीका लगाउनको लागि मानिसहरू राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा लामवद्ध छन् ।

यसअघि विजया दशमीको शुभ साईतमा राष्ट्रपति पौडेलले परिवार र आफन्तलाई टीका र जमरा लगाइदिनुभएको थियो । त्यस्तै उहाँले विजया दशमीको दिन भाउजू विष्णुमाया पौडेलेको हातबाट बडा दशैँको टिका ग्रहण गरेका थिए  ।

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टिका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानेर लगाउने गरिन्छ । त्रेता युगमा आजकै दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

आज असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रूपमा मनाइने विजयादशमी ९बडा दशैँ० को सबैभन्दा महत्त्वपूर्ण दिन हो । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठुलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशीर्वाद लिइन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस