कागबेनीका बाढी प्रभावितको सहयोगका लागि ८० लाख सङ्कलन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कागबेनीका बाढी प्रभावितको सहयोगका लागि ८० लाख सङ्कलन


६ कार्तिक २०८०, सोमबार


काठमाडौँ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीका बाढी प्रभावितलाई राहत जुट्ने क्रम जारी छ । गत साउन २८ गते कागखोलामा आएको बाढीबाट जायजेथा गुमाएकाको पुनः स्थापनाका लागि स्वतःस्फूर्त सहयोग उठिरहेको हो । कागबेनी बस्ती पुनः स्थापना तथा संरक्षण समितिका संयोजक फेन्चोक छेप्तेन गुरुङका अनुसार जनस्तरबाट हालसम्म करिब रु. ८० लाख सङ्कलन भएको छ ।

सहयोगदाताबाट आएको रकम उद्धार र राहतमा खर्च भइरहेको संयोजक गुरुङले बताए । बाढीबाट पूर्णरुपमा घर क्षति भएका नौ परिवारका लागि कागबेनी नजिकै एक्लेभट्टीमा अस्थायी बास निर्माण थालिएको उनको भनाइ छ । 

बाढीबाट सामान्य क्षति भएका घरको मर्मतसम्भार स्थानीय आफै पनि गरिरहेको उनले बताए । बाढी पसेको ठाउँको सफाइदेखि कागखोलालाई पुरानै धारमा फर्काउने काम भइसकेको छ ।

गृहमन्त्री, मुख्यमन्त्रीलगायतले बस्ती पुनः निर्माण र बाढी प्रभावितको राहतमा कुनै कमी हुन नदिने बताएकाले आफूहरू आशावादी रहेको स्थानीय कर्मा गुरुङले बताइन् । बाढीमा घरबास गुमाएकी गुरुङ अहिले सपरिवार आफन्तकोमा आश्रम लिइरहेकी छन् । 

सङ्घसंस्था, छिमेकी र आफन्तबाट सहयोग पाएको भन्दै छिट्टै सरकारबाट पनि राहत रकम आउनेमा विश्वस्त रहेको उनले सुनाए । हेर्दाहेर्दै कागबेनी क्षेत्र बगरमा परिणत भएकामा उनी दुःखी छन् । 

कागबेनीलाई हिन्दु र बौद्ध समुदायकाले पवित्र तीर्थस्थलका रूपमा लिइन्छ । मुक्तिनाथ क्षेत्र, उपल्लो मुस्ताङ र डोल्पा जाने सङ्गमस्थल पनि हो कागबेनी । कागखोलामा आएको बाढीबाट घर, मन्दिर, धर्मशाला, गुम्बा, सडक, पुललगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस