जनकपुरको राजदेवी मन्दिरमा दसैँको रौनक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जनकपुरको राजदेवी मन्दिरमा दसैँको रौनक


४ कार्तिक २०८०, शनिबार


काठमाडौँ। धार्मिक नगरी जनकपुरधाममा दसैँको रौनक छाएको छ । बजारमा चहल-पहल बढेको छ । हरेक वर्ष जस्तै यहाँको प्रसिद्ध राजदेवी मन्दिर श्रद्धालुका लागि आकर्षण केन्द्र बनेको छ ।

राजदेवी मन्दिरलाई महावीर युवा कमिटीले झकिझकाउ पारेको छ । मन्दिर र सो क्षेत्रको आकर्षक सजावटमै लाखौँ खर्च गरिएको छ । मन्दिरमा साँझ बिहान पूजापाठ गर्ने श्रद्धालुसँगै हजारौँ सर्वसाधारणको भीड लाग्छ ।

यहाँ श्रद्धालु पूजापाठसँगै मोबाइलमा सेल्फी लिन व्यस्त देखिन्छन् । साँझको समयमा अत्यधिक भिड हुन्छ, त्यसबीच टिकटक बनाउनेहरूको तँछाडमछाड उस्तै । टाढाटाढाबाट समेत श्रद्धालु आएका छन् ।

दसैँभर हरेक साँझ ‘राजदेवी’ माताको विशेष आरती हुन्छ । ‘राजदेवी’ त्रेतायुगका मिथिलाका राजा जनकको कूलदेवी रहेको मानिन्छ । त्यसैले आरती र सांस्कृतिक कार्यक्रममा पनि श्रद्धालुको भिड देख्न सकिन्छ । भगवती राजदेवीको निष्ठापूर्वक पूजा गर्दा मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास छ ।

जनकपुरको दसैँ तराई मधेशका अन्य ठाउँभन्दा विशेष मानिन्छ । दसैँको आज सातो दिन फूलपाती । भोली महाष्टमी पूजाको दिन जनकपुरमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने महावीर युवा कमिटीले जानकारी दिएको छ ।

जनकपुरमा विजया दशमीको दिन हुने रावण वध र लङ्का दहन कार्यक्रम अर्को मुख्य आकर्षण हो । यसवर्ष पनि यो कार्यक्रम राखिएको छ । ५२ फिटको अग्लो रावणको प्रतिमामा तीरले हानेर वध गर्दा जनकपुरभर खुशीको माहोल हुन्छ ।

त्रेतायूगमा दशमीकै दिन भगवान् रामले असुरी प्रवृत्तिको रावणलाई वध गरी धर्मको स्थापना गरेको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ । सोही आधारमा सीता माताको जन्मस्थल अर्थात् भगवान् रामको ससुराली जनकपुरमा रावण वध र लङ्का दहन कार्यक्रम आयोजना गरिन्छ ‌।

Tags :
प्रतिक्रिया दिनुहोस