इजरायलमा ज्यान गुमाएका चार विद्यार्थीको शव आइतबार नेपाल ल्याइने  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

इजरायलमा ज्यान गुमाएका चार विद्यार्थीको शव आइतबार नेपाल ल्याइने 


४ कार्तिक २०८०, शनिबार


काठमाडौँ । इजरायलमा हमास समूहको आक्रमणमा ज्यान गुमाएका चार जना नेपाली विद्यार्थीको शव आइतबार बिहान काठमाडौं ल्याइने भएको छ ।

तेल अबिबस्थित नेपाली दूतावासले पहिचान भएका चार विद्यार्थीको शव शनिबार नेपाल पठाउने जानकारी र ती शवहरु आइतबार बिहान नेपाल आइपुग्ने जानकारी दिएको छ ।

हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये सम्पूर्ण कानुनी प्रक्रिया पूरा भएका ४ विद्यार्थीको शव भोलि दिउँसोको १ः२५ बजे फ्लाइदुबईको उडानबाट नेपाल पठाउन लागिएको र शव कार्तिक ५ गते, आइतबार बिहान काठमाडौँ पुग्ने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासका अनुसार इजरायलबाट फ्लाइदुबईको उडान नं एफजेड१२१० मार्फत दुबईसम्म तथा तत्पश्चात् फ्लाइदुबईकै उडान नं एफजेड८३५१ मार्फत काठमाडौँसम्म पुग्ने गरी व्यवस्था मिलाइएको छ।

अन्य शव पहिचानको काम क्रमशः भइरहेको दूतावासले स्पष्ट पारेको छ ।

साथै, सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्यमा दूतावासले आफ्नो प्रयास केन्द्रित गरिरहेको पनि दूतावासले उल्लेख गरेको छ ।

प्यालेस्टायनी लडाकु समूह हमासको आक्रमणमा परेर ज्यान गुमाएकामध्ये ५ जनाको शव इजरायली सरकारले असोज २८ गते नेपाललाई हस्तान्तरण गरेको थियो ।

नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेश कुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको राजदूतावासले जनाएको छ । उनीहरूमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशिष चौधरीको शव ल्याउन लागिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस