काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पुस १० गते काँग्रेस र एमालेको सरकार बनाउने सहमति एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेको बताएका छन् ।
नेपाल प्रेस युनियन काठमाडौँको दसैँ शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनमा पार्टी सभापति शेरबहादुर देउवाले विद्रोह गरेर ओलीसँग वार्ता गरेको भए पनि असफल भएको सुनाए ।
थापाले भने, ‘चुनावभन्दा अगाडि कसले के बाचा गरेको थियो हामीलाई थाहा छैन । तर, चुनावपछाडि पुस १० गते हाम्रो सभापतिलाई काँग्रेस ठूलो दल भएकाले काँग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने लाग्यो । जुन स्वाभाविक हो । र, काँग्रेस सभापतिले त्यो दिन विद्रोह गर्नुभयो । विद्रोह गरेर बालकोटमा ओलीसँग वार्ता गर्नुभयो । ओलीले काँग्रेसको सभापतिले विद्रोह गरेको त्यो स्विकार्दिनुभएन । मद्दत गरिदिनुभएन । नत्र त्यस बेलामै काँग्रेस एमालेको सरकार बनिसकेको हुन्थ्यो । काँग्रेस र एमालेको सरकार बनाउने भनेर प्रचण्डलाई घरबाट बिदा गरेर पठाएको त्यो दिन ओलीले मान्दिनुभएन ।’
महासमितिको बैठकले काँग्रेसले चुनावअघि गठबन्धन गर्न नहुने निर्णयमा उभिनुपर्ने उनले बताए ।