सशस्त्र प्रहरी र सीमावर्ती क्षेत्रका १४३ वडाध्यक्षबीच छलफल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सशस्त्र प्रहरी र सीमावर्ती क्षेत्रका १४३ वडाध्यक्षबीच छलफल


१ कार्तिक २०८०, बुधबार


काठमाडौँ । सशस्त्र प्रहरीले मधेश प्रदेशका सीमावर्ती १४३ वडाका वडाध्यक्षहरूसँग सीमाका विविध विषयमा छलफल गरेको छ।

बुधबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिबासको आयोजना र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको उपस्थितिमा भएको अन्तरसंवादमा वडाध्यक्षहरूले सीमाका विभिन्न समस्या उठान गरेका छन्।

वडाध्यक्षहरूले दुई देशको सम्बन्ध र खुला सीमामा यसअघि सहज रूपमा हुने गरेको आवागमन र दैनिक उपभोग्य बस्तुको आयातमा भारतीय एसएसबी त कतै सशस्त्र प्रहरी बलले अनाहकमा अवरोध र केरकार गरेर दुस्ख दिने काम गरिरहेको गुनासो गरेका छन् । 

महोत्तरीका मटिहानी नगरपालिका-७ का वडाध्यक्ष जितनारायण माझीले पछिल्लो समय सीमामा व्यापक समस्या देखिएको गुनासो गरे। धनुषा मुखियापट्टी मुसरनिया गाउँपालिका-२ का वडाध्यक्ष नरेशप्रसाद यादवले भारतीय एसएसबीले दुःख दिएको गुनासो गर्दै आफ्नो जमिनमा अस्थायी पुल बनाउन समेत नदिएको गुनासो गरे।

केही वडाध्यक्षले युवाहरू लागुऔषध दुर्व्यसनीमा फसेर सीमावर्ती क्षेत्रमा विकृति मौलाएकाले सीमा व्यवस्थित बनाउन आवश्यक रहेको बताए।

वडाध्यक्षहरूले दुई देशबीच रहेको पौराणिक, धार्मिक र पारिवारिक सम्बन्धमा कुनै असर पर्न नहुने गरी सीमा व्यवस्थित गर्नुपर्ने बताएका थिए।

सशस्त्र प्रहरी बलका अनुसार ९ हजार ६६१ वर्ग किलोमिटर क्षेत्रफल र ६१ लाख १४ हजार जनसङ्ख्या रहेको मधेशमा ४६१ किलोमिटर लामो सीमा रहेकोमा सशस्त्र प्रहरी बलका स्थायी र अस्थायी गरी कुल १६० एकाइ सुरक्षाका लागि तैनाथ रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस