कात्तिक १२ मा नेपाल आउँदै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कात्तिक १२ मा नेपाल आउँदै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस 


३० आश्विन २०८०, मंगलबार


काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आगामी कात्तिक १२ गते नेपाल आउने भएका छन्। यसअघि असोज २६ गते आउने भनिए पनि अन्तर्राष्ट्रिय राजनीति परिस्थितिको फेरबदलको कारण गुटेरेसको नेपाल आउने कार्यक्रम स्थगित भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निम्तोमा गुटेरेस चार दिने नेपाल भ्रमणमा आउन लागेका हुन्। उनी नेपाल आउने तय भएपनि उनको उपस्थितिमा हुने कार्यक्रमहरू भने टुङ्गो लगाउन बाँकी छ। परराष्ट्र मन्त्रालयले कार्यतालिका तय गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि २६ देखि २९ असोजसम्मका लागि तय भएको गुटेरेसको नेपाल भ्रमण रोकिएको थियो। स्थगित भएको भ्रमण पुनः १२ देखि १५ कात्तिकसम्म हुने तय भएको हो।

युएन महासभाको क्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको निमन्त्रणालाई स्विकारेर गुटेरस नेपाल आउन लागेका हुन्।

‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनको असर र अल्पविकसित मुलुकहरूको सङ्गठन र यसको स्तरोन्नतिका लागि अन्य मुलुकको भूमिकाका विषयमा अध्यक्ष मुलुकको हैसियतमा विषय राखेका थिए।

गुटेरेसले यीनै विषयमा नेपालका सरोकारवाला पक्षहरूसँग छलफल गर्ने जनाइएको छ। यस्तै उनको उपस्थितिमा जलवायु परिवर्तनका कारण देखिएका असर बारे छलफल हुने छ भने उनलाई सगरमाथा क्षेत्रको हवाइ अवलोकन गराइने छ।

गुटरेसले नेपालको संघीय संसद र संसदीय समितिलाई संवोधन गर्ने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस