समितिका निर्देशन कार्यान्वयनबारे निगरानी टोली बनाउन माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

समितिका निर्देशन कार्यान्वयनबारे निगरानी टोली बनाउन माग


३० आश्विन २०८०, मंगलबार


काठमाडौँ । सांसदहरुले संसदीय समितिले दिएका निर्देशनहरू कागजमा मात्रै सीमित भएको भन्दै कार्यान्वयनबारे बुझ्न निगरानी टोली बनाउन प्रस्ताव गरेका छन्।

मङ्गलवार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समिति सदस्य कालुराम राईले संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन भए/नभएकोबारे बुझ्न निगरानी टोली बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले समितिको बैठक धेरै नै बसे पनि त्यसको उपलब्धी मूल्याङ्कन हुन नसकेको बताए।

उनले भने, ‘समितिको बैठक धेरै बस्यो। धेरै विषयमा छलफल भयो। तर, बैठकको उपलब्धिबारे मूल्याङ्कन गर्न सकिरहेका छैनौँ। समितिको उद्देश्य भनेको निगरानी र निर्देशन दिने हो। अनुगमन पनि गर्ने हो। हामीले दिएको निर्देशन कार्यान्वयन भयो कि भएन भन्ने निगरानी अथवा अनुगमन कसले गर्ने तरु हामीले निगरानी टोली पनि बनाउनुपर्छ कि ?’

समिति सदस्य विद्या भट्टराईले समितिमा सरोकारवालाहरूले माग सम्बोधनका लागि निवेदन दिने क्रम बढेको बताइन्। उनले समितिमा उजुरी दिनेको संख्या बढे पनि समितिमा उठेका मुद्दाहरूलाई सार्थकतामा परिणत गर्नुपर्ने बताइन्। भट्टराईले समितिमा दर्ज भएका उजुरीहरूलाई योजनाबद्ध ढङ्गले अघि बढाउनुपर्ने बताइन्।

Tags :
प्रतिक्रिया दिनुहोस