दसैँ आएन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

दसैँ आएन


३० आश्विन २०८०, मंगलबार


न बत्ती बलेको छ न चुलो जलेको छ
चकमन्न त्यो गाउँमा खुसी ढलेको छ
रमाइला चाडबाड के हुन्  थाहै पाएन
त्यो पल्लो गाउँमा कहिल्यै दसैँ आएन ।।

वर्षौँ कट्छ एक थान टालेका फरियाले
दुःख बिसाउने ठाउँ भेटेनन् ती भरियाले
मिठो मसिनो त परै पेटभर खानै खाएन
त्यो पल्लो गाउँमा कहिल्यै दसैँ आएन ।।

न काटिन्छ खसी न आउँछन् कोही पाहुना 
साहुको ऋण हरेक साल बढ्छ दुई गुना
कति बर्षात रुझेरै गए चुहिने छाना छाएन
त्यो पल्लो गाउँमा कहिल्यै दसैँ आएन ।।

न स्कुल देखेका छन् न सीप सिकेका छन्
छाक टार्न एकमाना दानामा बिकेका छन्
विभेदको त्यो घाउमा कसैले मलम लाएन
त्यो पल्लो गाउँमा कहिल्यै दसैँ आएन ।।

छेउकै अर्को गाउँमा तिमी नाच्छौ खुसीले
हावामा सम्पत्ति उडाएर बाँच्छौ बेहाेसीले
आफ्नो स्वार्थ बाहेक कसैले केही चाहेन
त्यो पल्लो गाउँमा कहिल्यै दसैँ आएन ।।

Tags :
प्रतिक्रिया दिनुहोस