देशको आर्थिक अवस्था सुधाका लागि उद्योग वाणिज्य महासङ्घ र सेजन सहकार्य गर्ने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

देशको आर्थिक अवस्था सुधाका लागि उद्योग वाणिज्य महासङ्घ र सेजन सहकार्य गर्ने


२९ आश्विन २०८०, सोमबार


काठमाडौँ । देशको आर्थिक सुधारका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सहकार्य गर्ने भएका छन् ।

सेजनका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्न आज सोमवार आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग वा संयन्त्र निर्माण गरी सहकार्य गर्ने अवधारणा आफूले अगाडि सारेको जानकारी गराए ।

अबको सुधारका लागि निजी क्षेत्रसहित सबै सरोकारवालाहरूको सामूहिक प्रयास आवश्यक भएको हुँदा आयोग आवश्यक रहेको अध्यक्ष ढकालले जोड दिए । यसमा सेजनसँगको सहकार्य महत्त्वपूर्ण हुने पनि उनको धारणा थियो । यसैगरी अन्य नीतिगत सुधार, भ्रमण आदिमा पनि महासङ्घ र सेजनबीच सहकार्य रहने अध्यक्ष ढकालले बताए ।

कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले आर्थिक मन्दीका समयमा विभिन्न वस्तुगत र जिल्लामा कार्यरत उद्यमी व्यवसायी समस्यामा रहेको हुँदा सुधारका लागि सहकार्य गरिने बताए । महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले देशभर नै उद्यमी व्यवसायी मन्दीका कारण प्रभावित भइरहेको हुँदा सबै क्षेत्रको विशेष पहल आवश्यक रहेको बताए । महासङ्घ उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले उद्यमी व्यवसायीको हितमा सेजनले गरिरहेको कामको प्रशंसा गरे । सेजन महासचिव विश्व रेग्मीले सकारात्मक सन्देश पनि प्रवाह गर्नु आवश्यक रहेको बताए ।

आर्थिक पत्रकारहरूको छाता संस्था सेजनको नयाँ कार्यसमिति २०८० भदौमा चयन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस