कार्यसम्पादनमा उपत्यका ट्राफिक सर्वोत्कृष्ट युनिट, प्रहरी ब्याटन-२०८० प्रदान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कार्यसम्पादनमा उपत्यका ट्राफिक सर्वोत्कृष्ट युनिट, प्रहरी ब्याटन-२०८० प्रदान


२९ आश्विन २०८०, सोमबार


काठमाडौँ । यस वर्षको प्रहरी ब्याटन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले हात पारेको छ । ७ प्रदेश र उपत्यका प्रहरी कार्यालयको वार्षिक कार्यसम्पादन मूल्याङ्कनका आधारमा प्रहरी प्रधान कार्यालयले उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई उत्कृष्ट ठहर गर्दै प्रहरी ब्याटन-२०८० प्रदान गरेको हो ।

प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा महानिरीक्षक वसन्तबहादुर कुँवरले ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेललाई ब्याटन प्रदान गरेका हुन् ।

यसैगरी नेपाल प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक ध्रुवराज राउत, प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा, प्रदेश प्रहरी गण खजुरा बाँकेका उपरीक्षक माधवप्रसाद बुढाथोकी, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपिन रेग्मी, इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका डीएसपी दानबहादुर थापा र प्रहरी चौकी श्रीअन्तु इलामका प्रहरी वरिष्ठ सई किरण प्रसा उत्कृष्ट प्रहरीका रूपमा पुरस्कृत भएका छन् ।

नेपाल प्रहरीसम्बन्धी उत्कृष्ट लेख रचनातर्फ छायादत्त न्यौपाने ‘बगर’ र प्रहरी निरीक्षक जनार्दन घिमिरेलाई उत्कृष्ट ठहरिएका छन् । दुवैजनालाई प्रहरी महानिरीक्षक कुँवरले नगद र प्रशंसापत्रसहित पुरस्कृत गरेका छन् । नेपाल प्रहरी विद्यालयका उत्कृष्ट शिक्षकतर्फ साँगा काभ्रेका शिक्षक भरत सिग्देल, ६८औँ प्रहरी दिवस २०८० का अवसरमा सर्वोत्कृष्ट प्रहरी नारा ‘गर्वका साथ सेवा, सम्मानका साथ सुरक्षा’ परिकल्पना गर्ने असई अमृत राना पुरस्कृत भएका हुन् ।

विपद् व्यवस्थापनमा उत्कृष्ट कार्य गरेबापत प्रहरी जवान प्रकाश साउद, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेल, उत्कृष्ट बाह्य प्रशिक्षक प्रहरी नायब निरीक्षक रेशमबहादुर बानिया, प्रहरी जवान सरिता थारू, सपोर्ट समूह प्राविधिकतर्फका प्रहरी निरीक्षक भक्त क्षेत्री र उत्कृष्ट खेलाडीतर्फ प्रहरी जवान विशाल सिंह विष्ट र प्रहरी कार्यालय सहयोगी सागर भण्डारी उत्कृष्ट ठहरिँदै नगदसहित सम्मान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस