संस्कृति संरक्षणमा पर्यटनमन्त्री किराँतीको जोड « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संस्कृति संरक्षणमा पर्यटनमन्त्री किराँतीको जोड


२८ आश्विन २०८०, आइतबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटनको पहिलो आधार नै संस्कृति भएकाले यसको माध्यमबाट पर्यटन विकास गरिनुपर्ने बताएका छन् । 

‘एनआरएन द सिङ्गर’ को पहिलो संस्करणका विजेतालाई आज पुरस्कार वितरण गर्दै मन्त्री किरातीले प्राकृतिक सम्पदा र संस्कृतिले भरिपूर्ण नेपाल विश्व पर्यटनको केन्द्र भएको बताए । नेपाल प्रकृति र संस्कृतिको धनी भएको बताउँदै उनले यसबाट नेपालले लाभ लिनका लागि गैरआवासीय नेपालीले सहयोग गर्नुपर्नेमा जोड दिए ।

पर्यटनमन्त्री किरातीले अहिलेको अवस्थामा नेपालमा केही निराशाको सञ्चार भएको बताउँदै हाम्रा संस्कृति र सम्पदाबाट पर्यटनको विकास गर्दै सकारात्मक कुराको सञ्चार गर्न आवश्यक भएको बताए । गीतसङ्गीत एकताको  सूत्रमा बाँध्ने माध्यम भएकाले सरकारले यसको संरक्षणका लागि काम गरिरहेको बताए । 

युक्ति विमली ‘एनआरएन द सिङ्गर’ को विजेता

‘खोजी उत्कृष्ट प्रवासी प्रतिभाको’ भन्ने मूल उद्देश्यका साथ आयोजना भएको पहिलो संस्करणको एनआरएन द सिङ्गरको पहिलो विजेता बेलायत निवासी युक्ति विमली बनकी छन् । जितसँगै उहाँले रु पाँच लाख र ट्रफी प्राप्त गरिन् । 

प्रतियोगितामा फस्ट रनरअप जापान निवासी कर्मादोङ तामाङ बने । उनले नगद रु. दुई लाख र ट्रफी प्राप्त गरे ।

यसैगरी, पोर्चुगल निवासी सुवासचन्द्र पुनमगर सेकेन्ड रनरअप भएर रु एक लाख प्राप्त गरे । एनआरएनका पूर्वअध्यक्ष भवन भट्टले भाषासाहित्यले सबैलाई जोड्ने भएकाले यसको संरक्षण गर्नुपर्नेमा जोड दिए । एनआरएनएका कार्यकारी अध्यक्ष बद्री केसीले नेपालले गर्व गर्नुपर्ने विषय देशको भाषा र संस्कृति हो भने । 

एनआरएन अध्यक्ष रवीना थापाले विदेशमा बस्ने नेपालीहरूको भाषा र संस्कृतिको जगेर्ना गर्नका लागि यस्ता कार्यक्रमले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस