नयाँ हुँ भन्ने राजनीतिक दलले आफूलाई पुष्टि गरेर देखाउनुपर्छः महामन्त्री शर्मा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नयाँ हुँ भन्ने राजनीतिक दलले आफूलाई पुष्टि गरेर देखाउनुपर्छः महामन्त्री शर्मा


२७ आश्विन २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ हुँ भन्ने राजनीतिक दलहरूले आफूलाई पुष्टि गरेर देखाउनुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै उनले नयाँ भन्ने कुरा मितिको आधारमा नभई संस्कृति र प्रवृत्तिको आधारमा हुने भएकाले नयाँ राजनीतिक दलहरूले आफूलाई नयाँ हुँ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने तर्क गरेका हुन्।

दसैँ, तिहारलगायतका चाडपर्वको अवसर पारेर नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क मञ्चले काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले कुनै राजनीतिक दल पुरानो हुँदैमा सकियो भन्न नमिल्ने बताए।

उनले मुलुक बनाउन सकिन्छ भन्ने अठोट लिएर प्रमुख राजनीतिक दलहरू एकजुट भएर अघि बढनुपर्ने आवश्यकता पनि औँल्याए ।

‘कसैले भन्दैगर्दा पुरानाका दिन गए। पुराना धर्म शास्त्र पनि हो। पुराना चाहिँ यो धर्ती पनि हो। पुराना भन्ने चीज त्यति सजिलै जाँदैन। नयाँ भन्ने पनि मितिले भनेर हुँदैन। विश्वप्रकाश संसदमा पहिलो पटक छ। नयाँ हो,’ उनले भने, ‘तर, नयाँ हुँ भन्न मैले केही नयाँ गरेर पुष्टि गर्नु पर्छ। कुनै दलले पनि, व्यक्तिले पनि नयाँ जन्म मितिले भनेर मात्रै पुग्दैन। नयाँ चाहिँ प्रवृत्तिमा, संस्कृतिमा हुन्छ। कुनै राजनीतिक दल पुराना हुँदैमा, हामी आफैँमा विदाइ पनि हुन्नौँ। र, शक्तिमा, सरकामा छौ भन्दैमा हामी सदैव सशक्त पनि हुँदैनौँ।’

उनले सत्तापक्ष र प्रतिपक्ष मिलेर मुलुकलाई अघि बढाउनुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस