न्युजिल्यान्डद्धारा बङ्गलादेशलाई ८ विकेटले पराजित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

न्युजिल्यान्डद्धारा बङ्गलादेशलाई ८ विकेटले पराजित


२७ आश्विन २०८०, शनिबार


काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत भएको खेलमा न्यूजिल्याण्डले बङ्गलादेशलाई आठ विकेटले पराजित गरेको छ । न्यूजिल्याण्ड लगातार तेस्रो खेलमा विजयी हुँदै अङ्क तालिकाको शीर्ष स्थानमा प्रवेश गरेको छ ।

भारतको चेन्नईमा आज न्यूजिल्याण्डले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । बङ्गलादेशले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाएर दुई सय ४५ रन बनायो । दुई सय ४६ रनको विजय लक्ष्य न्यूजिल्याण्डले ४२ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । न्यूजिल्याण्डका लागि डयारेल मिचेलले अविजित ८९ रन बनाए । उनले ६७ बल खेल्दै चार छक्का र ६ चौका प्रहार गरे । यस्तै केन विलियसनले एक सय सात बल खेल्दै ७८ रन बनाए । उनले यस क्रममा एक छक्का र आठ चौका हाने । डेवोन कान्वेले ४५ रनको योगदान दिए । उनले ५९ बल खेल्दै तीन चौका प्रहार गरे ।

बलिङतर्फ बङ्गलादेशका मुश्ताफिजुर रहमान र शकिब अल हसनले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ४५ रनको योगफल बनाएको थियो । बङ्गलादेशका लागि मुसाफिकर रहिमले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ७५ बलको सामना गर्दै दुई छक्का र ६ चौका हाने । महमुदुल्लाहले ४१ रन बनाए । उनले ४९ बल खेल्ने क्रममा दुई छक्का र दुई चौका प्रहार गरे । यस्तै कप्तान सकिब अल हसनले ४० रन जोडे । उनले ५१ बल खेल्ने क्रममा दुई छक्का र तीन चौका हाने । यसैगरी मेहिदी हसन मिराजले ३०, तास्किन अहमदले १७, तान्जिद हसनले १६ तथा तोहिद हृदोयले १३ रन बटुले ।

बलिङतर्फ न्यूजील्यान्डका बलर लोकी फर्गुसनले तीन, ट्रेन्ट बोल्ट र म्याट हेनरीले दुई दुई तथा ग्लेन फिलिप्स र मिचेल सान्टनरले एक एक विकेट लिए ।

न्यूजील्यान्डले पहिलो खेलमा साविक विजेता इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो । बङ्गलादेशले पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा इङ्गल्याण्डसित एक सय ३७ रनले पराजित भएको थियो । बङ्गलादेश एक जित र दुई हारका साथ अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ मा आयोजक भारतसँगै, बङ्गलादेश, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, पाकिस्तान, इङ्गल्याण्ड, श्रीलङ्का, नेदरल्याण्ड्स, अष्ट्रेलिया र अफगानिस्तान सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस