सात सय ३१ झोलुङ्गे पुल निर्माण गरिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सात सय ३१ झोलुङ्गे पुल निर्माण गरिने


२६ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । देशभरमा यस वर्ष सात सय ३१ पुलको निर्माण गरिने भएको छ ।

यीमध्ये कतिपय गत वर्षका निर्माणाधीन झोलुङ्गे पुलका योजना रहेको र कतिपय अहिले थप भएका रहेका स्थानीय पूर्वाधार विभागले जनाएको छ । पुराना सम्पन्न हुने र नयाँ योजना थपिँदै जानु नियमित नै हुने विभागका प्रवक्ता महेशचन्द्र न्यौपानेले बताए ।

गत वर्ष सात सय ४१ को निमार्ण पूरा भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । गत वर्ष सात सय २० निर्माण गर्ने लक्ष्य लिइएकामा त्योभन्दा २१ बढी पुल सम्पन्न भएका थिए । सङ्घ, प्रदेश र स्थानीय सरकारबाट सम्पन्न भएका थिए । प्रदेश र स्थानीय तहबाट पुल निर्माणका लागि पनि सहजीकरण भने सङ्घीय सरकारले गर्दै आएको छ ।

गत वर्षहरूमै सुरु भएका धेरै पुलहरू रहेकामा तीमध्ये सात सय २० सकिन्छ भन्ने भए पनि त्यसमा बढी भएको प्रवक्ता न्यौपानेले बताए । उनले भने, “समग्रमा झोलुङ्गे पुलको प्रगति राम्रो रहेको छ ।” अहिलेसम्म कम्तीमा प्रत्येक घण्टामा झोलुङ्गे पुल वा पुल हुने गरी निर्माण गरिरहेको उनले बताए । सरकारले एक घण्टाको फेरो (पैदल यात्रा गर्ने दूरी) मा झोलुङ्गे पुल हुनुपर्ने मापदण्ड परिवर्तन गरेर अहिले आधा-घण्टामा हुने गरी बनाउन लागेको छ । नागरिकले सजिलै र छिटो सेवा सुविधा पाउनुपर्ने मान्यताका आधारमा गर्न लागिएको उनले बताए । उनले भने, “पहिलेको मापदण्डअनुसार नै अझै केही बनाउन बाँकी छ ।”

सरकारले खास गरी ग्रामीण क्षेत्रमा नागरिकलाई नदी पार गर्नका लागि झोलुङ्गे पुल निर्माण गरिरहेको छ । सडकको सुविधा नपुगेको वा पुगे पनि तत्काल सडक पुल निर्माणको सम्भावना नरहेको ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेको छ । नागरिकलाई आवतजावतका लागि बनाइएका दुर्गम स्थानका कतिपय पुल पछिल्लो समयमा पर्यटन प्रवर्द्धनको माध्यमसमेत बन्दै गएको पाइएको छ ।

विगतमा नदी वारपार गर्न धेरै नदीमा तुइनको प्रयोग हुने गरेको थियो । सरकारले तुइन विस्थापित गरेर पहिले तुइन भएको सबै ठाउँहरूमा झोलुङ्गे पुलको निर्माण गरिसकेको छ । कतिपय स्थानमा व्यक्तिगत रूपमा सामान ओसार्न तुइन रहेको भए पनि नागरिकले ओहोरदोहोर गर्न तुइन चढ्नुपर्ने बाध्यता भने अहिले छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस