ओलीको जिकिर : भविष्य अन्धकार देखेपछि काँग्रेस र माओवादीले एमालेको विरोध गरे « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ओलीको जिकिर : भविष्य अन्धकार देखेपछि काँग्रेस र माओवादीले एमालेको विरोध गरे


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले एमालेको विरोध गरेको जिकिर गरेका छन् । 

नेकपा एमाले मधेस प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्दै आज बुधवार अध्यक्ष ओलीले अयोग्य, असक्षम र काम गर्न नसकेर नभई देशलाई विकासको बाटोमा लैजानसक्ने एउटै पार्टी एमाले भएकाले विरोध गरिएको दाबी गरेका हुन् । 

एमालेको लोकप्रियताले माओवादी र काँग्रेस आत्तिएको उनले बताए । माओवादी र काँग्रेस नसच्चिएसम्म देशमा दुई वटा पार्टीको भविष्य नरहेको ओलीको भनाइ छ ।

उनले भने, ‘एमाले अयोग्य, असक्षम र काम गर्न नसकेर विरोध भएको होइन । एमाले सशक्त छ, योग्य छ, काम गर्नसक्छ, मौका पाए देशलाई विकासको बाटोमा अघि लैजान सक्छ, देशमा सुशासन ल्याउन सक्छ, शान्ति सुव्यवस्था कायम गर्नसक्छ । यही भएर काँग्रेस र माओवादी आत्तिएका छन् । आफ्नै भविष्य अन्धकार देख्न थालेर हामीसँग आत्तिएका छन् । तपाईँहरू सच्चिनु हुँदैन भने एमालेको विरोध गरेर मात्रै तपाईँहरूको भविष्य छैन । नसच्चिए त तपाईँहरूको भविष्य अन्धकार भएर जाने नै हो ।’

अध्यक्ष ओलीले युवाहरूमा देशमा केही हुन्छ भन्ने आशा सकिँदै गएको बताए । उनले २०८४ सालको चुनावका लागि अहिलेदेखि नै तयारीमा जुट्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस