‘विशेष कारणवश’ भन्दै लोक सेवा आयोगले रोक्यो सहसचिव र उपसचिवको विज्ञापन  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘विशेष कारणवश’ भन्दै लोक सेवा आयोगले रोक्यो सहसचिव र उपसचिवको विज्ञापन 


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले बुधवार(आज) प्रकाशित हुनुपर्ने विज्ञापन रोकेको छ । सरकारले गरेको माग अनुसार गोरखापत्र दैनिकमा प्रकाशित गर्नुपर्ने विज्ञापन आयोगले कारण नै नखुलाई आफ्नो वेबसाइटमा रोकेको सूचना प्रकाशन गरेको हो । 

‘आयोगको वार्षिक कार्य तालिका २०८०/०८१ अनुसार मिति २०८०/६/२४ गते प्रकाशन गर्नुपर्ने विज्ञापन विशेष कारणवश प्रकाशन नगरिएको ब्यहोरा आयोगको मिति २०८०/६/२३ को निर्णय अनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर विशेष कारण के हो त्यो भने खुलाएको छैन । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सेवाका रिक्त सहसचिव र उपसचिवको माग मङ्गलवार नै आयोगमा पठाएको थियो । 

सम्बन्धित समाचार : भोली ठुलो सङ्ख्यामा सहसचिव र उपसचिवको विज्ञापन खुल्दै, कुन सेवामा कति ? 

कारण नै नखुलाई विज्ञापन रोक्ने आयोगको विज्ञप्तिले परीक्षार्थीहरूलाई निराश त बनाएको छ नै अन्यौलतासमेत सिर्जना गरेको छ । विज्ञापनबारे बुझ्न खोज्दा आयोगका पदाधिकारीहरूले जवाफ दिन मानेनन् । आयोगले विज्ञापन रोक्न लागेको सूचना बाहिरिएसँगै प्रशासन डटकमले मङ्गलवार नै आयोगकी प्रवक्ता गीताकुमारी होमेगाईलाई सोधेको थियो । उनले यसबारे ‘आज कुनै निर्णय नभई सकेको र आयोगले नभनी आफूलाई जानकारी नहुने’ बताएकी थिइन् । जबकि आयोगले प्रकाशित गरेको विज्ञप्तिमा २३ गतेको निर्णय भनेको छ । 

आयोगका सचिव राज कुमार श्रेष्ठले प्रवक्तालाई नै सोध्न भन्दै पन्छिएका थिए भने त्यसपछि प्रवक्ताको फोन नै उठ्न छोडेको थियो । आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीलाई पटक पटक सम्पर्क गर्दा पनि उनले फोन उठाएनन् । पारदर्शी र निष्पक्ष मानिँदै आएको लोक सेवा आयोगका पछिल्ला गतिविधिहरू ‘अस्पष्ट’ र ‘अपारदर्शी’ दिशातर्फ उन्मुख देखिँदै आएको आरोप कर्मचारीहरुको छ ।

हेर्नुस् सूचना

Tags :
प्रतिक्रिया दिनुहोस