कोशीमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने काँग्रेसको निर्णय « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कोशीमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने काँग्रेसको निर्णय


२३ आश्विन २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसले कोशी प्रदेशमा पुनः आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भएको छ । मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम काँग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय लिएको हो ।

सभापति देउवाले गठबन्धनमा भएको सहमतिबमोजिम काँग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने विषयमा अडान लिएका छन् । बैठकपछि सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कोशीमा काँग्रेसकै नेतृत्वमा सरकार गठनको लागि पहल गर्ने निर्णय भएको बताए ।

कोशीमा काँग्रेस संसदीय दलका नेता उद्धव थापा यसअघि दुई पटक मुख्यमन्त्री नियुक्त भएपनि विश्वासको मत पाउन सकेनन् । बैठकले सभापति देउवालाई त्यसबारे लचिलो भएर वार्ता र संवादका लागि जिम्मेवारी दिएको छ ।

बैठकले इजरायलमा भएको आक्रमण र नेपालीहरूको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेको छ भने मङ्गलवारै बस्ने संसदीय दलको बैठकमा इजरायलमा भएको हमास आक्रमण र त्यहाँ मृत्यु भएका युवाप्रति शोक व्यक्त गर्ने र सोहीबारेमा सरकारलाई सुझाव दिने विषयमा मात्रै केन्द्रित हुने जनाइएको छ ।

प्रदेश सभाको पहिलो दलको हिसाबले मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत जुटाउन नसकेपछि शनिबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्रीकालागि दाबी पेश गर्न आव्हान गरेका छन् । त्यसकालागि आगामी शुक्रबार साँझसम्मको समय दिइएको छ ।

काँग्रेसले शुक्रबारसम्म सकेसम्म आफ्नै नेतृत्वमा, नभए गठबन्धनका दलहरूको धारणाबमोजिम समेत भएपनि गठबन्धनकै नेतृत्वमा सरकार गठनको वातावरण बनाउन पहल लिने निर्णय गरेको हो ।

कोशी प्रदेशसभा हाल ९३ सदस्यीय छ । त्यसमध्ये बहुमतकालागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । तत्काल सरकार गठनकालागि आवश्यक पर्ने यो संख्या गठबन्धनसँग पहिल्यै छ । जसमा काँग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक सांसद छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस