सुरु भयो इजरायलमा मृत्यु भएका १० जनाको शव नेपाल ल्याउन पहल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुरु भयो इजरायलमा मृत्यु भएका १० जनाको शव नेपाल ल्याउन पहल


२२ आश्विन २०८०, सोमबार


काठमाडौँ । दक्षिण इजरायलको किवुज अलुमिमस्थित प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट मृत्यु १० जना नेपालीहरूको शव नेपाल ल्याउनका लागि प्रक्रिया अघि बढेको छ ।

इजरायलको तेल अबिबस्थित रहेको नेपाली राजदूतावासले जनाएअनुसार मृत्यु भएको १० जनाको शव नेपाल फिर्ता ल्याउनका लागि इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य सुरु गरिसकेको जनाइको छ ।

दूतावासले जनाएअनुसार चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने दुई जना तेल अबिब सहरमा सुरक्षित स्थानमा ल्याइसकिएको छ । साथै, सम्पर्क विहीन रहेका एक जना नेपालीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय संयन्त्रको सहयोगमा तिब्र गरिएको दूतावासले जनाएको छ ।

हाल युद्ध भइरहेको इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा फसेका नेपाली विद्यार्थीहरूलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली सङ्घ संस्थाको सहयोगमा दूतावासले उद्धार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने कार्य सुरु भइसकेको छ । ती क्षेत्रबाट इजरायली सेनाले ३२ जना नेपाली विद्यार्थीको उद्धार गरेको छ । दूतावासले हाल केही विद्यार्थीहरूको स्थानान्तरण भइसकेको र केही स्थानान्तरण हुने क्रममा रहेका जनाएको छ ।

नेपाल फर्कन इच्छुक नेपालीहरूको स्वदेश फिर्तीको लागि राजदूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण सङ्कलनको लागि अनलाइन रजिस्ट्रेसन सुरु भई दुई सय भन्दा बढीको विवरण प्राप्त भइसकेको दूतावासले जानकारी दिएको छ ।

इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई संयतता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस