काठमाडौँ जिल्ला अदालतमा पारिवारिक इजलास सुरु « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

काठमाडौँ जिल्ला अदालतमा पारिवारिक इजलास सुरु


२२ आश्विन २०८०, सोमबार


काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा आजबाट पारिवारिक इजलास शुरु भएको छ।

सोमबार बिहान प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलासको शुभारम्भ गरेका हुन् । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रधान न्यायाधीश बन्दै गर्दा गरेका वाचाहरू पूरा गरेकोमा खुशी लागेको बताएका छन्।

उनले पारिवारिक इजलासले महिलावादी मुद्दा, महिलावादी अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसासम्बन्धी मुद्दा र बालबालिकाका हित, सरोकार र हेरचाहसम्बन्धी जोडिएका मुद्दालाई छिटो न्याय निरूपण गर्न सहज हुने विश्वास व्यक्त गरे।

उनले पारिवारिक इजलासले महिला र बालबालिकावादी मुद्दाको छिनोफानो चाँडो टुङ्ग्याउने भन्दै आगामी दिनमा अन्य ठाउँमा पनि यस किसिमका इजलास विस्तार गर्ने बताए।

उनले पारिवारिक इजलासमा बस्ने न्यायाधीशहरुले पनि इजलासको उद्देश्यलाई बुझेर न्याय निरूपण गर्न आग्रह गरे।

उनले भने, ‘काठमाडौं जिल्ला अदालतमा दुई वटा पारिवारिक इजलास राख्ने भन्नेकुरा संसदीय सुनुवाई समितिमा भनेको थिएँ। त्यो आज मूर्त रूप दिन पाउँदा मलाई खुशी लागेको छ। पारिवारिक इजलासको महत्त्व किन हुन्छ भने यसमा हामी महिलावादी भएका अंशमुद्दा, नाताका मुद्दाहरू, घरेलु हिंसा सम्बन्धी मुद्दा र बालबालिकाका हित, सरोकार र हेरचाह सम्बन्धी जोडिएका र अत्यन्त छिटो र छरितो रूपमा किनारा गरिदिनुपर्ने खालका देवानी प्रकृतिका मुद्दाहरूलाई एउटा डेडिकेटेड बेन्च, पारिवारिक इजलासको नामबाट शुभारम्भ गरौँ भन्ने उद्देश्य हो। यो सायद हाम्रो न्यायिक प्रणाली र इतिहासमा पनि पहिलो पटक नै हो। यसले विशेष गरी महिलावादी भएर चल्ने अंश मुद्दामा छिटो छरितो, चाँडो फैसला गर्न सक्छ भन्ने उद्देश्य हो।’

Tags :
प्रतिक्रिया दिनुहोस