चालु आर्थिक वर्षबाट एक पालिका एक हुलाकको अवधारणा कार्यान्वयन गर्ने : मन्त्री शर्मा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चालु आर्थिक वर्षबाट एक पालिका एक हुलाकको अवधारणा कार्यान्वयन गर्ने : मन्त्री शर्मा


२२ आश्विन २०८०, सोमबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चालु आर्थिक वर्षबाट नै एक पालिका एक हुलाक को अवधारणा कार्यान्वयन गर्ने बताएकी छन् ।

सोमबार विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिँदै उनले सञ्चार तथा सूचना प्रविधिमा भएको तीव्र विकाससँगै हुलाक सेवाले गर्ने परम्परागत कामहरूमा व्यापक कटौती आएको र यसलाई संघीय शासन प्रणाली बमोजिम पुनः संरचना गर्न आवश्यक भएको बताएकी छन् ।

‘सञ्चार तथा सूचना प्रविधिमा भएको तीव्र विकाससँगै हुलाक सेवाले गर्ने परम्परागत कामहरूमा व्यापक कटौती आएको छ । सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा जनतालाई हुलाक सेवाको पहुँच पुर्‍याउने गरी सेवा प्रवाहका विन्दुहरू तय गरिएको थियो । विद्यमान अवस्थामा सूचना प्रविधिसँग जोड्दै संघीय शासन प्रणाली बमोजिम पुनः संरचना गर्न आवश्यक देखिएको छ । चालु आर्थिक वर्षबाट नै यसको सुरुवात गरी एक पालिका एक हुलाक को अवधारणा कार्यान्वयन गर्ने सरकारको कार्यक्रम रहेको छ ।’

उनले हुलाक सेवाको विश्वव्यापी सञ्जालमा नेपाललाई थप सक्रिय सदस्य राष्ट्रको रूपमा उभ्याउन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

उनले मुलुकभर आफ्नो सेवा प्रवाहको सञ्जाल रहे पनि परम्परागतरुपमा अब हुलाक सेवा प्रभावकारी बनाउन सकिने अवस्था नभए पनि यसमा व्यापक सुधार ल्याउन सेवा प्रवाहलाई आधुनिक र प्रतिस्पर्धी बनाउनु सरकारको उद्देश्य रहेको उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस