काठमाडौँ । नेपाल टेलिकमको सुरुङ्गा शाखाका निमित्त प्रमुख दिलीप सुवेदी २३ दिनदेखि सम्पर्क विहीन भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं ९ सल्ले स्थायी घर भएका ३१ वर्षीय सुवेदी गत भदौ ३० गतेदेखि सम्पर्कमा नआएको पारिवारिक स्रोतले जनाएको छ ।
सुवेदीसँग अन्तिम पटक बिहान ८ बजेर ४९ मिनेटमा फोन सम्पर्क भएको सुवेदीकी श्रीमती बज्रुनाले बताइन् । त्यसपछि दिउसो १२ बजे फोन गर्दा मोबाइल अफ रहेको उनले बताइन् । श्रीमान् सम्पर्क विहीन भएको बारेमा प्रहरीलाई जानकारी गराउँदा चित्तबुझ्दो जवाफ नपाएको उनको गुनासो छ । उनले श्रीमानको खोजी कार्यमा सहयोग गरिदिन सबैमा अपिल गरेकी छन् । सुवेदी अधिकृत छठौं तहका कर्मचारी हुन् ।
नेपाल टेलिकम वर्कर्स युनियन कोशी प्रादेशिक समितिका अध्यक्ष हेमचन्द्र भण्डारीले सुवेदीको खोजीका लागि प्रहरीलाई आग्रह गरिएको जानकारी दिए । उनका अनुसार अहिलेसम्म उनको अवस्था अज्ञात नै छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार कार्यालयमा परेको निवेदनको आधारमा प्रहरीले सुवेदीको खोजी कार्य गरिरहेको जानकारी दिए । परिवारले दिएको निवेदनको आधारमा खोजी भइरहेको उनले बताए । उनका अनुसार सुवेदीको बारेमा अहिले एकिनरुपमा केही भन्न सकिने अवस्था छैन । प्रहरीले सुवेदी आफैँ हराएका हुन् वा कसैले उनलाई अपहरण गरेको हो भन्ने बारेमा अनुसन्धान गरिरहेको छ ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल टेलिकम कोशी प्रादेशिक समिति र नेपाल टेलिकम वर्कर्स युनियन कोशी प्रादेशिक समितिले सुवेदीको खोजी कार्य शीघ्रताका साथ गर्न नेपाल टेलिकम कम्पनी व्यवस्थापन, सुरक्षा निकाय, प्रशासनिक सम्यन्त्रलगायत सरोकारवाला निकायलाई अपिल गरेको थियो । सङ्गठनका सचिव सुरेन्द्र कुमार यादव र युनियनका सचिव प्रकाश कुमार सापकोटाले संयुक्त विज्ञप्ति जारी गर्दै सुवेदीको अवस्था अज्ञात रहेका कारण निजको परिवारजन र आफन्तमा परेको मानसिक तनाव र पीडाप्रति अत्यन्तै संवेदनशील भई खोजी कार्यमा शीघ्रता दिन अपिल गरेका थिए ।