चाडपर्वमा ‘कालोबजारी’ नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

चाडपर्वमा ‘कालोबजारी’ नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण


२१ आश्विन २०८०, आइतबार


काठमाडौँ । सांसदहरुले दशैँलगायतका चाडपर्वमा कालोबजारी हुने गरेको भन्दै त्यसलाई चनाखो भएर नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

दशैँलगायतका चाडपर्व नजिक आइरहेका बेला आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले दुर्गम क्षेत्रमा नागरिकलाई सहज र सुलभ मूल्यमा चामललगायतका खाद्यवस्तुको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग समेत गरे ।

बैठकमा बोल्दै सांसद विना लामाले चाडबाडमा मात्रै चामल खाने दुर्गम क्षेत्रका नागरिकका लागि सरकारले सस्तोमा गुणस्तरीय खाद्य वस्तुहरू उपलब्ध गराउनुपर्ने बताइन् । उनले न्यून आयस्रोत भएका जनताले उपभोग गर्न नसक्ने गरी मूल्य वृद्धि बढेकाले त्यस्ता व्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि सरकारलाई दबाब दिइन् ।

सांसद लामाले भनिन्,’अहिले नजिकिँदै गएको चाडपर्वमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य जनताको हितमा नरहेको, विशेष गरी न्यून आयस्रोत भएका व्यक्तिहरूले उपभोग गर्न नसक्ने, उनीहरूको चुलो नै निभ्न सक्ने गुनासाहरु आउन थालेका छन् । दुर्गम गाउँमा दशैँमा एक पटक चामल खानका लागि पनि मूल्यवृद्धिका कारण नसक्ने अवस्था आएको गुनासो गरिरहनुभएको छ । विशेष गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसमा न्यून मूल्य निर्धारण गरेर गाउँ-गाउँसम्म सहज रूपमा उनीहरूले गुणस्तरयुक्त खानेकुराहरू गर्नका लागि सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद विनीताकुमारी सिंहले चाडपर्वका बेला कालोबजारी गर्ने जस्ता अपराधिक गतिविधि हुने गरेको भन्दै त्यसलाई समयमै रोक्न सरकारसँग माग गरिन् । उनले विषादी चेकजाँच गरेर मात्रै खाद्य वस्तुहरूलाई बिक्री वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गरेकी हुन् ।

सांसद सिंहले भनिन्, ‘विषादी चेकजाँच गरेर मात्रै खाद्यवस्तुको बिक्री वितरण गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । दशैँलगायतका चाडपर्वको मौका छोपेर खाद्य वस्तुमा पनि मिसावट गर्ने, आफूखुसी मूल्यवृद्धि गर्ने, कालोबजारी गर्ने । साथै म्याद गुज्रेका सामान बिक्री वितरण गर्नेजस्ता अपराधिक गतिविधिहरू समयमै रोक्नका लागि सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु । ’

सांसद बिजुला रायमाझीले चाडबाडका बेला सवारी दुर्घटना अधिक हुने गरेको उल्लेख गर्दै त्यसो हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताइन् । उनले गुणस्तरहिन खाद्य वस्तुको बिक्री वितरण हुन नदिनका लागि पनि सरकारलाई सचेत गराइन् ।

सांसद रायमाझीले भनिन्, ‘शहरको महँगी, कालोबजारी र गुणस्तरहिन वस्तु र सेवाले जनता पीडित हुँदैछन् । चाडबाडमा सवारी दुर्घटना प्रशस्त हुने र यो सवारी दुर्घटना न्यून गर्नका लागि सरकार चनाखो बनोस् । ’

सांसद रायमाझीले चाडपर्वका बेला जनतालाई मारमा पार्ने खालका कुनैपनि गतिविधि हुन नदिन सरकार चनासो हुनुपर्ने बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस