१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक


१९ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो ।

महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१-१७ अङ्कले पराजित गरेको हो ।

नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक पक्का गरेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चार वटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।

महिला कबड्डीतर्फ नेपालले पहिलो पटक एसियाली खेलकुदमा भाग लिएको हो । नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्गलादेश रहेका थिए । इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इरानले अहिले समूह ‘ए’ को उपविजेता चाइनिज चाइपेईसित प्रतिस्पर्धा गर्दै छ ।

यसअघि नेपालले पहिलो खेलमा सोमबार बङ्गलादेशलाई ३७-२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलबार इरानसित १९–४३ अङ्कले पराजित भएको थियो । नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी(कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गङ्गा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त रहेका थिए । टोलीका प्रशिक्षकमा विष्णुदत्त भट्ट रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस