काठमाडौँ । सरकारले सामाजिक सञ्जालको दुरुपयोग भइरहेकोप्रति ध्यानाकर्षण जनाएको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले अहिलेसम्म कानून नभएर सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाही गर्न नसकेको बताइन् ।
उनले भनिन्, ‘कुनै कानूनमा टेकेर हामीले कारबाही गर्न सक्ने अवस्था छैन । सरकारले कानूनमै टेकेर काम गर्नुपर्ने भएकाले एकदमै तदारुकताका साथ कानून निर्माण गर्ने प्रक्रियामा छौँ । त्यो निर्देशिका अहिले कानून मन्त्रालयमा छ । आउने क्याबिनेटबाट पारित भएर जान्छ । त्यसले केही व्यवस्थापन गर्न सक्छ । निर्देशिकामै हामीले धेरै दण्ड, सजायको कुरा गर्न सक्ने रहेनछौँ । प्रचलित कानूनबमोजिम हुने कारबाही त आफ्नो ठाउँमा छँदैछ ।’
सामाजिक सञ्जाललाई इङ्गित गरेर दण्ड सजाय निर्देशिकामा राख्न नसक्ने भएकाले यसबारे कानून नै बनाउने तयारी भइरहेको प्रवक्ता शर्माले बताइन् ।
सरकारले सामाजिक सञ्जालको दुरुपयोगको समस्या समाधान गरेरै छाड्ने उनले बताइन् ।