काठमाडौँ । नेकपा (एमाले) का असन्तुष्ट नेता-कार्यकर्ताले पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन्।
मनोमानी रूपमा अधिवेशन प्रतिनिधि छनोट गरिएको भन्दै उनीहरूले धनगढीमा रहेका प्रदेश कार्यालय, कैलाली जिल्ला पार्टी कार्यालय र धनगढी नगर कमिटीको कार्यालयमा मंगलबार तालाबन्दी गरेका हुन्।
अनेरास्ववियुका एक केन्द्रीय सदस्य कान अनुसार प्रदेश अधिवेशनका लागि विधानविपरीत प्रतिनिधि छनोट गरिएकाले तालाबन्दी गरिएको हो।
पार्टीको विधि, विधान एवं मूल्य मान्यतालाई लत्याएर प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गरिएकाले युवाहरूले तालाबन्दी गरेको उनको भनाइ छ।
युवा नेता–कार्यकर्तालाई अवसरबाट वञ्चित गरेर प्रतिनिधि छनोट गरिएको आरोप पार्टी नेतृत्वलाई लागेको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटीले असोज २१ र २२ गते धनगढीमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ।
सोमबार निर्वाचन अधिकृतको कार्यालयले धनगढी नगर कमिटी तथा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत प्रदेश क र ख मा निर्विरोध प्रतिनिधि निर्वाचित भएको घोषणा गरेको थियो।