झापाका लिम्बूको हत्याका मुख्य आरोपीसहित ११ जना सार्वजनिक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

झापाका लिम्बूको हत्याका मुख्य आरोपीसहित ११ जना सार्वजनिक


१५ आश्विन २०८०, सोमबार


दमक (झापा) । तीनदिन अघि दमकमा भएको एक हत्या प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जनालाई झापा प्रहरीले आज सार्वजनिक गरेको छ ।

दमक नगरपालिका-१ स्थित रुवेल माछा फ्राईमा साथीहरुबीच झगडा हुँदा छुरा प्रहारबाट मृत्यु भएका इलामको चुलाचुली गाउँपालिका-३ का ३८ वर्षीय गोविन्द लिम्बूको हत्यामा संलग्न मुख्य आरोपी दमक-७ का २२ वर्षीय सनम राईसहित ११ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय दमकमा आज पत्रकार सम्मेलन गरी मुख्य आरोपी राईसहित दमक-१ का २२ वर्षीय आनन्द भुजेल, दमक-७ कै १८ वर्षीय सवास आलम, दमक-१ कुमाल चौकको रुवेल माछा फ्राईका सञ्चालक विशाल कुमाल, दमक-१ का २५ वर्षीय नामुद थेवे, २२ वर्षीय राजकुमार भुजेल, २६ वर्षीय आकाश केरुङ्ग, दमक-७ का २३ वर्षीय राहुल श्रेष्ठ, २८ वर्षीय सलमान लिम्बू, इलाम चुलाचुली-४ का ३१ वर्षीय सन्दीप राई, सोही पालिका-३ का ३८ वर्षीय सूर्य केरुङ्ग, ३८ वर्षीय उपेन्द्र राईलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताए । 

उनले घटनाकै दिन होटेल सञ्चालक कुमालसहित आठ र आज मुख्य आरोपी सनम राईसहित तीन जनालाई मोरङको उर्लाबारी-१ टप्पु टोलबाट नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार तीन दिनअघि दमक-१ स्थित कुमाल चौकको रुवेल माछा फ्राईमा मदिरा सेवन गरेपछि आपसी झगडा हुँदा आरोपी राईले लिम्बूको मुख्य आरोपी राईले घाँटी तथा हातमा छुरा प्रहार गरी हत्या गरेका थिए । 

हत्या लगत्तै उनी फरार थिए र आज खोजतलासका क्रममा संयुक्त प्रहरी टोलीले राईसहित तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको इप्रका दमकका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस