इन्द्रजात्रा अवलोकन गर्न आएका विदेशी पाहुना फर्किए « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

इन्द्रजात्रा अवलोकन गर्न आएका विदेशी पाहुना फर्किए


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ । यस वर्षको इन्द्रजात्रा अवलोकन गर्न आएका विदेशी पाहुनाहरू स्वदेश फर्केका छन् । यस वर्ष यही असोज ११ गते इन्द्रजात्राको मुख्य दिन परेको थियो । असोज १० गते काठमाडौँ आइपुगेका पाहुनाहरू जात्रा सकिएसँगै स्वदेश फर्किएका हुन् ।

आमन्त्रित विदेशी अतिथि (१६ वटा भगिनी सम्बन्ध र नौ वटा अन्तर्राष्ट्रिय सङ्घसंस्था) मध्ये यस वर्ष तीन वटा देश (चीन, अमेरिका र दक्षिण कोरिया) का पाँच वटा नगर र एउटा संस्थाबाट प्रतिनिधि आएका थिए । यसमा चीनका छेन्दु, सियान, चान्चाउ र नान्जिन गरी चार वटा नगर र अमेरिकाको फेडरिसबर्ग नगरका प्रतिनिधि थिए । उनी सबै स्वदेश फर्किसकेका छन् ।

त्यसैगरी काठमाडौँ महानगरपालिकासँग सम्बन्ध भएका र जात्रा अवलोकन गर्न आएका स्वदेशी पाहुनाहरू पनि फर्किसकेका छन् ।

इन्द्रजात्राको अवसरमा चित्रकला प्रदर्शनी

काठमाडौँ महानगरपालिकाले इन्द्रजात्राको बारेमा थप जानकारी गराउने उद्देश्यसहित यही असोज १३ देखि २३ गतेसम्म कला प्रदर्शनी सुरु गरेको छ ।

नेपाल कला परिषद् (नेपाल आर्ट काउन्सिल) बबरमहलमा ११ दिनसम्म सञ्चालन हुने प्रदर्शनीअन्तर्गत असोज १२ गते विशेष प्रदर्शनी गरेर जात्रामा आएका पाहुनाहरूलाई अवलोकन गराइएको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिए ।

छोटो अवधिका लागि आएका अतिथिलाई काठमाडौँका सबै ठाउँमा घुम्न लैजान कठिन भएकाले, उपत्यकाको प्रकृति र संस्कृतिका विषयमा कलाकारले कोरेका तस्बिर प्रदर्शनी गरिएको उनले जानकारी दिए ।

परिषद्मा ४५ जना कलाकारका ६१ वटा चित्र प्रदर्शनमा राखिएका छन् । जीवनका अनुभूतिहरू, प्रकृति र सम्पदाको गरिमा, भैरव र शिवका अभिव्यक्तिहरू रङको प्रयोगबाट गरिएको जीवन्त प्रस्तुति प्रदर्शनको मुख्य विशेषता रहेका छन् ।

ऐतिहासिक इन्द्रजात्रा यही असोज ९ गते वसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएर विधिवत्रूपमा सुरुआत भएको थियो ।

त्यसैगरी १० गते जीवित देवदेवी कुमारी, गणेश र भैरवको पूजा गरी रथयात्रा चलाइएको थियो । त्यस्तै, जात्राको अन्तिम दिन १५ गते जात्रासँगै राति ८ बजेर ३७ मिनेटमा लिङ्गो ढाल्ने कार्यक्रम गरी जात्रा यस वर्षका लागि सकिने छ । जात्राको प्रचलन मल्ल राजा जयप्रकाशका पालादेखि सुरु भएको विश्वास गरिन्छ ।

भाद्र शुक्ल पक्ष द्वादशीका दिन वसन्तपुरको हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएपछि प्रारम्भ हुने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस