कर्मचारी नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कर्मचारी नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित


१३ आश्विन २०८०, शनिबार


वीरगञ्ज । लामो समयदेखि दरबन्दीअनुसारको कर्मचारी पदपूर्ति नहुँदा कृषि ज्ञान केन्द्र वीरगञ्ज पर्साको कामकाज प्रभावित हुँदै आएको छ । कर्मचारी नहुँदा सेवाग्राहीलाई सेवा उपलब्ध गराउन समस्या हुँदै आएको कार्यालय प्रमुख मुनिलाल कुशवाहाले जानकारी दिए । प्रदेश सरकार मातहत रहेको सो कार्यालयमा १५ जना कर्मचारीको दरबन्दी भए पनि हाल दुई जना प्राविधिक जनशक्तिसहित चार जना कर्मचारी मात्र कार्यरत छन् ।

कार्यालयमा एक जना वरिष्ठ कृषि विकास अधिकृत, एक जना अर्थ विज्ञ, एक जना बाली विकास अधिकृत, एक जना बाली संरक्षण अधिकृत, एक जना कृषि प्रसार अधिकृत र एक जना बागवानी विकास अधिकृतको दरबन्दी भए पनि हाल वरिष्ठ कृषि विकास अधिकृतको रूपमा कार्यालय प्रमुख कुशवाहा मात्र कार्यरत रहेका थिए ।

यस्तै सो कार्यालयमा प्राविधिक सहायक तीन , लेखापाल एक , खरिदार एक, कार्यालय सहयोगी तीन र हलुका सवारी चालक एक जनाको दरबन्दी रहेकोमा स्थायी एक जना र करारमा एक जना गरी दुई जना कार्यालय सहयोगी मात्र कार्यरत रहेको कार्यालय प्रमुख कुशवाहाले बताए। एक जना हलुका सवारी चालकलाई करारमा राखिएको छ ।

कार्यालयमा तत्काल बाली संरक्षण, योजना, बागवानी विकास अधिकृतको पदपूर्ति आवश्यक भएको उनले बताए । ती पदको कर्मचारी नहुँदा सेवाग्राहीलाई सेवा प्रदान गर्न र आवश्यक कृषिसम्बन्धी परामर्श दिन समस्या भएको कार्यालय प्रमुख कुशवाहकको भनाइ छ ।

जिल्लाका कतिपय क्षेत्रमा धानबालीमा गवारो किराको प्रकोप देखिए पनि कर्मचारी अभावका कारणसम्बन्धी क्षेत्रमा पुगेर आवश्यक परामर्श सेवा पु¥याउन कठिनाइ भएको उनले बताए । यस्तै कार्यालयमा लेखापाल नहुँदा आर्थिक कारोबार गर्न समस्या भइरहेको र समय समयमा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट लेखापाल बोलाएर काम गर्ने गरेको उदको गुनासो छ ।

त्यस्तै बाली संरक्षण अधिकृत नहुँदा विषादी पसल खोल्न इजाजत दिने एवं त्यस्ता पसलको नवीकरण गर्ने काम अवरुद्ध भएको प्रमुख कुशवाहाले बताए । सीमित जनशक्तिका बाबजुत कार्यालयको कामसँगै धानबालीमा देखिएको रोग किराको समस्या नियन्त्रण गर्न किसानको खेत खेतमा पुगिरहेको उनको भनाइ छ ।

कार्यालयमा देखिएको जनशक्ति अभावबारे प्रदेश मन्त्रालय तथा कृषि निर्देशनालयमा पटक पटक जानकारी गराएर कर्मचारी माग गरे पनि हालसम्म पदपूर्ति नभएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस