चिकित्सकका माग सम्बोधन गर्न संसदीय समितिको निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चिकित्सकका माग सम्बोधन गर्न संसदीय समितिको निर्देशन


१२ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । संसदीय समितिले आन्दोलनरत चिकित्सकहरूका माग वार्तामार्फत सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित बनाई निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको दुर्व्यवहारको घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले संसदीय समितिको तर्फबाट चिकित्सकका समस्या सम्बोधनका लागि भएका पहलकदमीबारे समिति सदस्य डा. तोसिमा कार्कीलाई आन्दोलनरत चिकित्सकहरूलाई जानकारी गराउने जिम्मेवारी दिएको बताए ।

सभापति जोशीले भने, ‘चिकित्सकहरूमाथि भएको दुर्व्यवहारको घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता घटनाप्रति दुःख र खेद प्रकट गर्दै दोषीमाथि नियमअनुसार कारबाही गर्न र स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित, हिंसारहित बनाई निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको छ । चिकित्सकहरू एवम् स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्याको समाधान गर्न वार्तामार्फत गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छौँ ।’

संसदीय समितिमा सांसदहरूले चिकित्सकहरूमाथि सुरक्षाको खतरा बढेको भन्दै घटनामा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस