काठमाडौँ । स्थानीय तहले कार्यविस्तृतीकरण परिमार्जन सम्बन्धी बनेको सुझाव प्रतिवेदन सरकारलाई बुझाएको छ ।
नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गाना र गाउँपालिका महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले शुक्रबार संयुक्त रूपमा उक्त प्रतिवेदन निमित्त मुख्य सचिव एकनारायण अर्याललाई बुझाएका हुन् ।
संविधानमा उल्लेख भएपनि एकल र साझा अधिकार कार्यान्वयन हुन नसकेको, स्थानीय तहको अधिकार कार्यान्वयन गर्न नपाएको लगायतका विषय सुझाव प्रतिवेदनमा समेटिएको महासङ्घले जनाएको छ ।
यस्तै स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकाको शासन सञ्चालन समस्या र समाधानका उपाय समेत प्रतिवेदनमा उल्लेख रहेको छ ।
प्रतिवेदन तयार गर्न पालिका सङ्घले नेपालगञ्ज, बर्दिबास र भरतपुरमा स्थानीय तहका पदाधिकारी, विज्ञहरूसँग छलफल समेत गरेको थियो ।
महासङ्घकी अध्यक्ष पाण्डेका अनुसार सुझाव प्रतिवेदनले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जन गर्न संघीय सरकारलाई मद्दत पुग्ने बताइन् ।