सुर्खेतमा नेपाल प्रहरीको विशेष सुरक्षा गण स्थापना हुने  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुर्खेतमा नेपाल प्रहरीको विशेष सुरक्षा गण स्थापना हुने 


११ आश्विन २०८०, बिहिबार


काठमाडौँ । सुर्खेतमा नेपाल प्रहरीको विशेष सुरक्षा गण स्थापना हुने भएको छ।

सङ्घीयता पछि प्रदेशमा पहिलो पटक नेपाल प्रहरीको सुरक्षा गण स्थापना हुन लागेको हो।

गुर्भाकोट नगरपालिका-१४ गुमीमा गण स्थापना हुन लागेको हो। विस्तृत शान्ति सम्झौतापछि माओवादी सेनाको अस्थायी शिविर भएको जग्गामा विशेष सुरक्षा गण स्थापना गर्न लागिएको छ।

यसअघि उक्त जग्गा र संरचनामा सशस्त्र प्रहरीको एक टोली बसेको थियो। उक्त ठाउँमा गण स्थापनाका लागि साढे ४ बिघा जग्गा नेपाल प्रहरीको नाममा आएको छ।

अहिले कर्णाली प्रदेशमा पनि नेपालगञ्जमा रहेको विशेष सुरक्षा गणले हेरिरहेको थियो। गुमीमा संरचना स्थापना र गण स्थापनाको काम सँगसँगै पूरा गरिने नेपाल प्रहरीको कर्णाली प्रदेश कार्यालयले जनाएको छ।

उचित निर्णय नहुँदा र बजेटको व्यवस्थापन नहुँदा कर्णालीमा नेपाल प्रहरीको विशेष सुरक्षा गण स्थापना हुन सकेको थिएन।

पछिल्लो पटक गण स्थापनाका लागि गुमीमा रहेका अस्थायी संरचनाहरूको मर्मत गरेर ३५ जना प्रहरी बसेका छन्। गणमा ५ सय जना प्रहरीको दरबन्दी रहेको छ।

कर्णाली प्रदेश सरकारले तत्काल मर्मत तथा आवश्यक संरचना निर्माणका लागि १ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस