दाहाल र माधवप्रति ओलीको टिप्पणी-‘नेकपा उहिल्यै पोलेर खाइसक्यौ, के ब्युँताउँछौ’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दाहाल र माधवप्रति ओलीको टिप्पणी-‘नेकपा उहिल्यै पोलेर खाइसक्यौ, के ब्युँताउँछौ’


१० आश्विन २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नेकपा ब्युँताउने कुनै सम्भावना नभएको बताएका छन् ।

पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपालले नेकपा ब्युँताउने अभिव्यक्तिपछि ओलीले त्यो सम्भावना नभएको बताए ।

एमाले कर्णाली प्रदेश प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘कम्युनिस्ट एकता नेकपा ब्युँताउने अरे ! नेकपा त अस्ति नै पोलेर खाइसक्यो । अब कहाँबाट ब्युँताउँछौ । हामीलाई कुनै भ्रम छैन । यी तत्त्वहरू कम्युनिस्ट हुन् भन्ने भ्रम कसैले पाल्न आवश्यक छैन ।’

उनले ”प्रचण्ड’/माधवले एमालेमा फुटाएर काँग्रेसको पाउमा सरकार चढाउन गएको टिप्पणी गरे ।

ओलीले थपे, ‘अनि वामपन्थी एकता रे ! नेकपा ब्युँताउने रे ! फेरि भ्रम पर्न जरुरी छैन । कम्युनिस्ट जति एमालेमा आउन म आग्रह गर्न चाहन्छु, माओवादीमा भएका साथीहरूलाई पनि भन्न चाहन्छु ।’

उनले कसैको भ्रममा नपरी पार्टी पङ्क्तिलाई अब हरेक वडामा ५१ प्रतिशत एमाले हुनेगरी काममा लाग्न निर्देशन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस