एमालेको बागमती प्रदेश अधिवेशनको निर्वाचन केन्द्रीय कार्यालयमा हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमालेको बागमती प्रदेश अधिवेशनको निर्वाचन केन्द्रीय कार्यालयमा हुने


९ आश्विन २०८०, मंगलबार


काठमाडौँ। भृकुटीमण्डपमा उद्घाटन भएको नेकपा एमाले बागमती प्रदेशको पहिलो अधिवेशनको कार्यक्रम भोलिदेखि केन्द्रीय कार्यालय च्यासलमा हुने भएको छ । अधिवेशनको दोस्रो दिन मङ्गलवार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलेको थियो ।

मङ्गलवार राजनीतिक, सङ्गठनात्मक र लेखा प्रतिवेदनमाथि छलफल भयो । यी प्रतिवेदनहरू पारित भएपछि बुधवारदेखि केन्द्रीय कार्यालय च्यासलमा नेतृत्व चयन प्रक्रिया अगाडि बढ्नेछ ।

निर्वाचनको कार्यतालिका पनि आजै तय भएको छ । तालिका अनुसार बुधबार बिहान ८ बजे अन्तिम मतदाता नामावली प्रकाशन, साढे ९ देखि ११ बजेसम्म मनोनयन दर्ता, दिउँसो ४ बजे उम्मेदवारी फिर्ता र ५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।

साँझ ६ बजेदेखि मतदाताहरूको नामावली विद्युतीय मेसिनमा राखेर बिहीबार बिहान ११ बजेदेखि मतदान गर्ने तालिका तय भएको छ । अधिवेशनमा १ हजार १७४ प्रतिनिधि चयन भएका छन् ।

निर्वाचन प्रक्रिया सँगसँगै सहमतिको प्रयत्न गर्ने नेताहरुले तयारी गरेका छन् । बागमती प्रदेश अध्यक्षका लागि केशव पाण्डे, कैलाश ढुङ्गेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, रचना खड्का, कृष्णभक्त पोखरेल लगायतले दाबी गरेका छन् ।

तर सर्वसम्मत नेतृत्व चयनको कसरत चलिरहँदा कैलाश ढुङ्गेल र कृष्ण दाहालबीच बलियो दाबी देखिएको नेताहरुले बताएका छन् । सम्भवतः चुनाव हुँदा यी दुई बीच हुने सम्भावना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस