सर्वसाधारणका लागि आईपीओ जारी गर्दे निगम « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सर्वसाधारणका लागि आईपीओ जारी गर्दे निगम


९ आश्विन २०८०, मंगलबार


काठमाडौँ । नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । आज मङ्गलवार नेपाल एलपी ग्यास उद्योग सङ्घको २८ औँ वार्षिक साधारण सभामा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले यो जानकारी दिएका हुन् ।

कार्यकारी निर्देशक थानीले धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औँ पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले सर्वसाधारणका लागि आईपीओ जारी गर्न समय लागेको बताए । सर्वसाधारणको समेत स्वामित्व हुने गरी निगमले आईपीओ जारी गर्ने उनको भनाइ छ ।

उनले भने, ‘सर्वसाधारणका लागि आईपीओ जारी गर्न निगम प्रतिबद्ध छ । कम्तीमा दुई वटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले समय लागेको हो । सधैँभर नेपाल आयल निगमलाई गाली गरेर हुँदैन । सबैले स्वामित्व लिनका लागि पनि आईपीओ जारी गर्नुपर्छ ।’

कार्यकारी निर्देशक थानीले ग्यास व्यवसायीहरूप्रति आयल निगम निर्मम हुने सोचमा नभएको बताए । उनले सरकारले व्यवसायीहरूका माग समयसापेक्ष रूपमा चाँडै सम्बोधन गर्ने प्रतिबद्धता जनाए । देशको अर्थतन्त्रमा टेवा पुर्‍याउने हिसाबले निगमले विसं २०८० असार ३१ गतेदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको बताए । स्वचालित मूल्य लागू गरेपछि निगम अलिकति भए पनि नाफामा रहने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस