एमालेले कुनै न कुनै दिन सबै सुन तस्करीको छानबिन गर्छ : ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमालेले कुनै न कुनै दिन सबै सुन तस्करीको छानबिन गर्छ : ओली


८ आश्विन २०८०, सोमबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय भएका सबै सुन तस्करीको छानबिन गराएरै छाड्ने बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित पार्टीको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष ‌ओलीले सरकारले सुन तस्करी छानबिन गर्न नचाहेको आरोप लगाएका हुन् ।

सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न सरकारलाई आफ्नो पार्टीले बाध्य पारे पनि सो आयोगमार्फत छानबिन गर्न भने नमानेको ओलीको जिकिर छ ।

सरकारले आयोगलाई सुन तस्करी छानबिन नभई तस्करी हुन नदिने गरी कानुन निर्माण गर्नका लागि सुझाव दिनुपर्ने जिद्दी गरिरहेको उनले बताए । अध्यक्ष ओलीले सरकार सुन तस्करहरूलाई भगाउनका लागि सो आयोग एक महिनापछि मात्रै बनाउन सहमत भएको समेत दाबी गरे । उनले आफ्नो पार्टीले पछिल्लो समय भएका सबै सुन तस्करीको कुनै पनि दिन छानबिन गराएरै छाडने चेतावनीसमेत दिए ।

‘धेरै किलो सुनको तस्करी भएको छ । अरु धेरै कुराको तस्करी भएको छ । यो कुनै ख्यालठट्टा होइन, देश विरोधी, देशद्रोही काम गर्ने कुरा कुनै ख्यालठट्टा होइन । यो शताब्दीभरि कुनै पनि समयमा यसको छानबिन गराएरै छाडछौं । कुनै पनि समयमा भोलि होस्, पर्सि होस्, अर्को महिना होस् । अर्को पल्ट होस । जति ढिलो हुन्छ, त्यो गाह्रो पर्नेछ । म त्यो भन्न चाहन्छु,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस