डोटी । डोटी जिल्लामा स्थानीय तहमा कार्यरत कर्मचारीहरूले अधिकार संर्घष समिति गठन गरेका छन् ।
जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीको शनिबार दिपायलमा भएको भेलाले विनोद भट्टको संयोजकत्वमा १३ सदस्यीय संर्घष समिति गठन गरिएको जनाएको छ ।
समितिको उप-संयोजकमा शङ्कर प्रसाद जोशी, सचिवमा मीनबहादुर चन्द र कोषाध्यक्षमा षडानन्द ओझा रहेका छन् । त्यस्तै सदस्यहरूमा रोजी सिंह, सुमित्रा थापामगर, कल्पना केसी, पुष्पराज भट्ट, पुष्कर राज जोशी, चन्द्र बहादुर अधिकारी, हर्क बहादुर साफरी, अमृत ओली र चक्र बहादुर देउवा रहेका छन् ।
स्थानीय तहमा कार्यरत कर्मचारीहरूले संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरिनुपर्ने, संघीय प्रदेश र स्थानीय सेवाको पदमा बहाल रहेका स्थायी कर्मचारीहरूलाई निजामतीको परिभाषा भित्र समेटिनुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, तीन वटै तहमा तहगत प्रणाली लागु गरिनुपर्ने, स्थानीय तहमा कार्यरत संघीय कानुन बमोजिम समायोजन भएका, लोकसेवा आयोगबाट सिफारिस भई नियुक्त भएका, प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई नियुक्त भएका र साबिकका स्थानीय तहका कर्मचारीहरू ७५३ स्थानीय तहहरूमा नै बिना सहमति स्वचालित, वैज्ञानिक, पूर्व अनुमानयोग्य र चक्रीय प्रणाली अनुसार २/२ वर्षमा सरुवा हुनुपर्ने व्यवस्था गरिनुपर्ने, एउटै प्रदेश भित्र प्रदेशले र अन्तर प्रदेश स्थानीय तह सरुवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा गरिनुपर्ने लगायतका स्थानीय तहमा कार्यरत कर्मचारीहरूले माग गर्दै आइरहेका छन् ।