विदेशबाट काठ ल्याउन रोक्नपर्छ : मुख्यमन्त्री जम्कट्टेल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विदेशबाट काठ ल्याउन रोक्नपर्छ : मुख्यमन्त्री जम्कट्टेल


६ आश्विन २०८०, शनिबार


नारायणगढ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विदेशबाट काठ ल्याउन रोक्नुपर्ने बताएका छन् । नवजागृति सामुदायिक वन उपभोक्ता समूह भरतपुर चितवनको रजत महोत्सव समापन समारोहलाई शनिबार सम्बोधन गर्दै उनले यहाँ भएका काठ सुकेर जाने गरेको र अर्बौँका काठ विदेशबाट ल्याइएको बताए।

उनले भने, “यहाँ हामी काठ काट्न नदिने अनि विदेशबाट काठ ल्याउने १ नेपालीलाई चाहिने काठ नेपालमै छ। विदेशबाट काठ ल्याउन हामीले रोक्नुपर्छ।”

उनले बागमती प्रदेश सरकारले ऐनमा संशोधन गरेर उपभोक्तालाई आवश्यक काठ दिने नीति बनाउन लागेको बताए। उनले थपे, “हामी जथाभावी काठ काट्न दिदैँनौँ तर काठ दिन रोक्न पाइँदैन।”

उनले वन जङ्गल जोगाउनु सबैको कर्तव्य भएको भन्दै वनबाट फाइदा पनि लिनपर्ने बताए। हाम्रोजस्तो विविधताले भरिएको मुलुक अन्त कतै नभएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले वनबाट झरेको पातबाट प्राङ्गारिक मल बनाउन लागेको जानकारी दिए।

सरकारको नीति तथा कार्यक्रम र बजेटमा राखेर प्रत्येक निर्वाचन क्षेत्रमा एउटा प्राङ्गारिक मल कारखाना स्थापना गर्नेतर्फ सरकार लागेको उनको भनाइ थियो। सङ्घीय लोकतात्रिक गणतन्त्र नेपाललाई समृद्घ नेपाल बनाउने जिम्मेवारीका साथ सबैले आआफ्नो स्थानबाट सहयोग गर्नुपर्ने भन्दै उनले नयाँ तरिकाले कृषि कर्म गर्नुपर्ने बताए।

उनले भने, “किसानका नाममा धेरै प्रतिशत अनुदान दुरुपयोग भएको छ। अब व्यक्तिलाई अनुदान नदिई समुदायमा आधारित कृषि उत्पादनको मोडेलमा बागमती प्रदेश सरकार जान लागेको छ।”

फरक प्रसङ्गमा मन्त्री जम्कट्टेलले नर्सिङ पढ्नका लागि बागमती प्रदेश सरकारले क्षमता भएका कलेजमा पढ्नका लागि खुला गर्न लागेको बताए।

उनले भने, “अब नर्स पढ्न बागमती प्रदेशमा बन्देज हुँदैन।” उनले अन्तर्राष्ट्रियस्तरमा नेपाली नर्स तथा चिकित्सकको माग बढिरहेको अवस्थामा यहाँ पढ्नै नपाउन गरी रोक्न नहुने बताउनुभयो। कतिमा पढाउने भन्ने कुराको पनि सूचना आइसकेको उहाँले जानकारी गराए।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश सरकारले विभिन्न क्षेत्रमा उल्लेख्य काम गरेको बताए। उनले स्वास्थ्यको क्षेत्रमा आम सेवाग्राहीको स–साना गुनासासमेत सम्बोधन गरेको जानकारी गराए। उनले भने, “हामीले धेरै कामको थालनी गरेका छौँ, कतिपय कामको सकारात्मक प्रतिफल पनि आइसकेको छ।”

कार्यक्रममा वन क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तिको सहभागिता रहेको थियो। ‘हाम्रो लगानी हरेक बोट, जनजनमा सामुदायिक वन संरक्षणको २५ औँ वर्षको रजत महोत्सव’ भन्ने मूल नाराका साथ नवजागृति सामुदायिक वन उपभोक्ता समूहले विभिन्न कार्यक्रम गरी रजत महोत्सव समापन गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस