स्वच्छ, स्वास्थ्य र मर्यादित पत्रकारिताले लोकतन्त्र बलियो बनाउँछ : रेखा शर्मा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्वच्छ, स्वास्थ्य र मर्यादित पत्रकारिताले लोकतन्त्र बलियो बनाउँछ : रेखा शर्मा


६ आश्विन २०८०, शनिबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वच्छ, स्वास्थ्य र मर्यादित पत्रकारिताले लोकतन्त्रलाई थप बलियो बनाउने बताएकी छन् । अभिव्यक्ति स्वतन्त्रता बिना राजनीतिक स्वतन्त्रताको अर्थ नहुने उनको भनाइ छ ।

प्रेस काउन्सिल नेपालको ५४औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक र अभिव्यक्ति स्वतन्त्रता एकापसमा पूर्णरुपले गाँसिएको बताउँदै राजनीतिकर्मी र पत्रकारिता सँगसँगै भएको बताइन् उनले भनिन्, ‘लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो भन्ने कुरालाई पत्रकारिता क्षेत्रबाट थप सशक्त र प्रभावकारी बनाउने र अगाडि बढाउने काममा यहाँहरुको पत्रकारिता अगाडि बढ्ने छ भन्नेमा विश्वस्त छु ।’

पत्रकार आचारसंहिताको पालनाबाट मर्यादित, जिम्मेवार पत्रकारिताको विकास गर्ने, प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्दै पत्रकार आचारसंहिता पालनाका निम्ति काउन्सिलले पत्रकारलाई उत्प्रेरित गरेको उनको भनाइ छ ।

बद्लिएको परिवेशमा नेपालको पत्रकारितालाई अझै जिम्मेवार र उत्तरदायी बनाउन काउन्सिलकै पुनःसंरचना बारेमा छलफल चलिरहेको बताउँदै काउन्सिललाई पत्रकारिता क्षेत्रको नियमन र स्वनियमनमा बढी केन्द्रित गर्नुपर्ने सरकारका प्रवक्ता शर्माको भनाइ छ । ‘लोकतन्त्रमा मिडियामाथिको नियन्त्रण कल्पनाभन्दा बाहिरको कुरा हो, अब गर्ने भनेको स्वनियमनको ढाँचामा नियमन नै हो, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मर्यादित पत्रकारिताको विकासलाई अगाडि बढाउने गरी मिडिया काउन्सिल ऐन बन्नुपर्छ भन्ने आमसञ्चार क्षेत्रका विज्ञहरुको सुझाव रहेको छ’, उनले भनिन् ।

आम सञ्चार क्षेत्रको पुनःसरचनाका लागि सञ्चार क्षेत्रका विज्ञहरुको सुधार समिति गठन गरेर प्रतिवेदनसमेत प्राप्त गरिसकेको उनको भनाइ छ । उनको सबैको सल्लाह र सुझावका आधारमा सञ्चारसम्बन्धी कानुनलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरिन् । उनले पत्रकार आचारसंहिताको पूर्णपालना गर्नुपर्नेमा जोड दिइन् । नेपाल पछिल्लो समयमा सबैभन्दा बढी विकास भएको क्षेत्र पत्रकारिता क्षेत्र भएको बताउँदै उनले समग्र पत्रकारिता क्षेत्रका चुनौतीका बारेमा पनि समीक्षा गर्नुपर्ने धारणा राखिन् । मन्त्रालयले साइबर सुरक्षा नीतिलगायत महत्त्वपूर्ण कानुनहरु पारित गरेको उनको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउँदै पत्रकारिता क्षेत्रले सबै क्षेत्रलाई खबरदारी गर्नुपर्ने धारणा राखे । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रलाई दुरुपयोग गर्नेभन्दा पनि जिम्मेवार र प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा काउन्सिलको वार्षिक प्रतिवेदन र ‘संहिता’ सार्वजनिक गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस