एमाले मधेश अधिवेशनको तयारी सुरु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमाले मधेश अधिवेशनको तयारी सुरु


५ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेको मधेश प्रदेश अधिवेशनको तयारी सुरु भएको छ । एमालेको अधिवेशन आगामी असोज २४, २५ र २६ गते गते जनकपुरधाममा हुने छ ।

मधेश अधिवेशनको तयारीका लागि विभिन्न समिति तथा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको छ ।

एमालेका मधेश प्रदेश प्रचार विभागका अनुसार प्रदेश अध्यक्ष रामअवतार यादवको संयोजकत्वमा प्रतिनिधि छनोट तथा व्यवस्थापन समिति, प्रदेश उपाध्यक्ष रेवती पन्तको संयोजकत्वमा जनपरिचालन समिति गठन गरिएको छ ।

त्यस्तै कमलकिशोर चौधरीको संयोजकत्वमा स्वयम सेवक परिचालन समिति, शिवशंकर साह हिराको संयोजकत्वमा खाद्य व्यवस्थापन समिति, मोहम्मद कायस्थको संयोजकत्वमा आवास व्यवस्थापन समिति र प्रचार विभाग प्रमुख शर्माको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको जनाएको छ ।

यस्तै पोलिटव्युरो सदस्यहरू लिलानाथ श्रेष्ठ, जुली महतो र अच्युत मैनाली रहेको प्रतिनिधि छनोट, व्यवस्थापन तथा सुपरिवेक्षण अनुगमन समिति समेत गठन गरिएको प्रचार विभागले जनाएको छ । 

विभागका अनुसार अगामी असोज ११ गते अधिवेशनको मूलनारा सहितको व्यानर र लोगो सार्वजनिक गरिने छ ।

अधिवेशनबाट दलित, आदिवासी जनजाति, महिला, युवासहितका कलस्टर र विभिन्न जनवर्गीय सङ्गठनबाट प्रतिनिधित्व हुने गरी २३५ सदस्य प्रदेश कमिटी चयन गरिने छ।

अधिवेशनका लागि १५० स्वयम् सेवक र ५० जना पर्यवेक्षक खटाइने छ । जनकपुरको महेन्द्रनारायण निधि प्रतिष्ठान भवनको प्राङ्गणमा अधिवेशनको उद्घाटन सत्र असोज २४ गते गर्ने एमालेको तयारी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस