शरद् ऋतुमा हिमाल आरोहणका लागि ३ सय ३९ जनाले लिए अनुमति  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शरद् ऋतुमा हिमाल आरोहणका लागि ३ सय ३९ जनाले लिए अनुमति 


३१ भाद्र २०८०, आइतबार


काठमाडौँ । शरद्कालीन सिजनमा नेपालका हिमाल आरोहणका लागि तीन सय ३९ जनाले अनुमति लिएका छन् ।

अहिलेसम्म १० वटा हिमाल आरोहणका लागि ३५ वटा समूहका तीन सय ३९ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । जसमा ७३ जना महिला आरोही छन् । आरोहण अनुमतिबापत सरकारले तीन करोड ६५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

सबैभन्दा धेरै मनास्लु हिमालबाट तीन करोड ४० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । मनास्लु हिमाल आरोहणका लागि तीन सय एक जनाले आरोहण अनुमति लिएका छन् । सबैभन्दा कम होमलुङ, नेमजुङ र थापा पिकका लागि दुई-दुई जनाले अनुमति लिएका छन् ।

शरद्कालमा हिमाल आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका ४९ जनासहित ४७ देशका नागरिक रहेका छन् । नेपालका तीन जनाले अनुमति लिएका छन् ।

वसन्तकालीन र शरद्कालीन गरी दुई वटा सिजनमा नेपालका हिमालमा आरोहण हुने गरेको छ । तुलनात्मक रूपमा वसन्तकालमा आरोहीहरूको सङ्ख्या बढी हुन्छ । आरोहण क्षेत्रमा चर्चित सगरमाथामा शरद् याममा बिरलै मात्र आरोहण हुने गरेको छ । शरद् ऋतुमा विशेष गरी गोरखाको मनास्लु हिमाल आरोहीको रोजाइमा पर्ने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस