८ बुँदे सहमतिसहित २ वर्षपछि अखिल क्रान्तिकारीभित्रको विवाद मिल्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

८ बुँदे सहमतिसहित २ वर्षपछि अखिल क्रान्तिकारीभित्रको विवाद मिल्यो


२५ भाद्र २०८०, सोमबार


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीभित्रको विवाद २ वर्षपछि मिलेको छ ।

सोमवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को रोहबरमा ८ बुँदे सहमति भएसँगै अखिल क्रान्तिकारीभित्रको विवाद अन्त्य भएको हो । क्रान्तिकारीका फ्रयाक्सन इन्चार्ज हिमाल शर्माले नीतिगत सहमतिको प्रस्ताव प्रस्तुत गरेका थिए । नीतिगत सहमति भएसँगै क्रान्तिकारीभित्रको विवाद हल भएको फ्रयाक्सन इन्चार्ज शर्माले बताए । 

‘नीतिगत सहमतिसँगै आजबाट क्रान्तिकारी भित्रको विवाद हल भएको छ । संगठनात्मक समस्याहरू हल गर्न ८ बुँदे सहमतिका आधारहरू प्रस्तुत भएका छन् । यसकै आधारमा २३ औँ सम्मेलनको तयारीमा जुट्नेछौँ’, शर्माले भने, क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले ८ बुँदे नीतिगत सहमतिसँगै सङ्गठन एकताबद्ध भएको जिकिर गरिन् । सहमतिसँगै सङ्गठनभित्र  देखिएको समानान्तर गतिविधि अन्त्य हुने उनले विश्वास लिइन् ।

‘नीतिगत सहमतिसँगै हामी एकताबद्ध भएका छौँ । दुवै पक्षको सहमतिमा २३ औँ सम्मेलनको तयारीमा लाग्नेछौँ । आजबाट समानान्तर गतिविधि अन्त्य भएको छ’, अध्यक्ष सिंहले भनिन् ।  साउनमा विद्यार्थी सङ्गठनको फ्याक्सन इन्चार्ज शर्मामा नियुक्त भएपछि संगठनात्मक विवाद  हल गर्न पहल गरेका थिए । शर्माले प्रधानमन्त्रीसमक्ष विवाद हल गर्ने आधारपत्र प्रस्तुत गरेका थिए । बालुवाटारमा शर्मासहित उपसभापति पम्फा भुसाल, उपमहासचिव वर्षमान पुनलगायत क्रान्तिकारीका नेताहरू रहेका थिए ।  

क्रान्तिकारीको २१ औँ सम्मेलनमा क्रान्तिकारीमा संगठनात्मक समस्या रहेको आरोप लगाउँदै उपाध्यक्ष पवन कार्की नेतृत्वको समूहले समानान्तर गतिविधि गर्दै आएका थिए ।  आठ बुँदे सहमतिमा विद्यामान केन्द्रीय समितिलाई पदाधिकारी कायम राखी २३ औँ राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गर्ने, आयोजक  समितिमा पदाधिकारी विस्तार गर्ने लगायत सहमतिका आधारहरू प्रस्तुत गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस