प्रधानमन्त्रीको २४ सदस्यीय टोली अमेरिका भ्रमणमा जाने तय « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्रीको २४ सदस्यीय टोली अमेरिका भ्रमणमा जाने तय


२२ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । भदौ १९ गतेदेखि सुरु भएको संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ ३० गते संयुक्त राज्य अमेरिका जाँदै छन्।

महासभाको ७८ औँ सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्नेछन्।

स्रोतका अनुसार २४ सदस्यीय टोली अमेरिका जाने तय भएको छ। यो समूहमा प्रधानमन्त्रीको निजी सचिवालयबाट १० जना हुने छन्।

स्रोतका अनुसार प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिवहरू गङ्गा दाहाल, रमेश मल्ल, प्रेस सल्लाहकार गोविन्द आचार्य, निजी फोटोग्राफर प्रदीपराज वन्त, निजी भिडिओग्राफर नवराज दाहाल, निजी डाक्टर युवराज शर्मा र तीन जना सुरक्षाकर्मी हुने छन्।

यस्तै मुख्यसचिव बैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी पनि भ्रमण टोलीमा छन्।

यसैगरी परराष्ट्रमन्त्री एनपी साउद, उनका स्वकीय सचिव दीपक जोशी, परराष्ट्र सचिव भरतराज पौड्याल, सहसचिव सेवा लम्साललगायत प्रतिनिधि भ्रमण दलमा रहने छन्।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ‘प्रचण्ड’ दिगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्त्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुने तय भएको परराष्ट्र मन्त्री साउदले जानकारी दिए। अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन आएका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री ‘प्रचण्ड’ सहभागी हुनेछन्।

महासभा चलिरहँदा प्रधानमन्त्री ‘प्रचण्ड’ले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग साइडलाइन भेटवार्ता गर्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस