मेथिनकोट अस्पतालमा मिर्गौलाको डायलायसिस सेवा शुरु « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

मेथिनकोट अस्पतालमा मिर्गौलाको डायलायसिस सेवा शुरु


२२ भाद्र २०८०, शुक्रबार


काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा रहेको मेथिनकोट अस्पतालमा मिर्गौला रोगीको उपचारका लागि डायलायसिस सेवा शुरु गरिएको छ । अस्पतालमा पाँचवटा अत्याधुनिक मेसिनबाट डायलायसिस सेवाको शुरु गरिएको हो ।अब बाग्मती प्रदेशको काभ्रेपलाञ्चोकसहित आसपासका जिल्लाका नागरिक अस्पतालको सेवाबाट लाभान्वित हुने विश्वास लिइएको छ ।

काठमाडौँका अस्पतालमा डायलायसिस गर्न नपाएर बिरामीले महिनौँ कुर्नुपर्ने बाध्यताको अन्त्यका लागि मेथिनकोट अस्पतालले सेवा शुरु गरेको प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले बताए । उनका अनुसार अब काठमाडौँका सुविधासम्पन्न अस्पतालले उपलब्ध गराउने सेवा मेथिनकोट अस्पतालले दिने छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालले अस्पताललाई ट्रमा सेन्टर र डायलायसिस सेवाको उत्कृष्ट अस्पतालका रूपमा विकसित गर्ने योजना बनाएको बताए। तीन तहका सरकारको समन्वयका कारण अस्पतालमा सेवा विस्तार गर्दै लगिएको मेथिनकोटका मेयर कुन्साङ लामाले बताए । प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा विस्तार गर्दै प्रदेशस्तरीय अस्पताल बनाइएकामा स्थानीय निकै खुसी भएका लामाको भनाइ छ ।

अस्पताललाई बाग्मती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाबाट अन्य आवश्यक उपकरण सहयोग गरिएको थियो । अस्पतालमा अहिले सेवा विस्तार भएसँगै बिरामीको चाप बढ्दै गएको छ । अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गरिएको छ । अस्पतालमा हृदयाघातका बिरामीका लागि पहिलो चरणको खोप निःशुल्क उपलब्ध गराइएको छ भने मानसिक रोगको उपचार, डायलायसिस सेवा, हाडजोर्नी, बाल विशेषज्ञ, सम्पूर्ण ल्याब सेवा, रेबिज खोपलगायत नेपाल सरकारले तोकेको दुई सय ५० थरिका औषधि निःशुल्क उपलब्ध गराइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस