८० विद्यार्थी ज्वरोले  बिरामी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

८० विद्यार्थी ज्वरोले  बिरामी


२१ भाद्र २०८०, बिहिबार


महोत्तरी । बर्दिबास-६ कृष्णपुरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातक तहको पाँचौँ ‘सेमेस्टर’मा अध्ययनरत विद्यार्थीमा ज्वरोको समस्या देखिएको छ ।

पछिल्ला पाँच-छ दिनयता ८० विद्यार्थी ज्वरोले बिरामी परेका छन् । उनीहरूको शुक्रबारदेखि परीक्षा रहेको बताइएको छ । 

ग्रामीण भेग अवस्थित कलेजमा विद्यार्थी ज्वरोले ग्रस्त भएपछि बर्दिबास अस्पतालको चिकित्सक टोलीले कलेजमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ । ज्वरो आएकामध्ये तीन जनामा डेङ्गु सङ्क्रमणको पुष्टि भएको अस्पतालका मेडिकल अफिसर डा. किशोर अधिकारीले जानकारी दिए ।

एक्कासी उच्च ज्वरो आउने र टाउको दुख्ने सबैजसो विद्यार्थीमा समान लक्षण पाइएको छ । यसअघि चौथो  सेमेस्टरको परीक्षा चलिरहँदा पनि विद्यार्थीलाई ज्वरोले समस्या बनाएको क्याम्पस प्रमुख हरि भुजेलले जानकारी दिए । 

बर्खायाममा धमिलिएको दूषित पानी सेवनले ज्वरो फैलिएको अनुमान गरिए तापनि अझै कतिपयमा डेङ्गु सङ्क्रमण देखिन सक्ने जाँचमा संलग्न चिकित्सकको भनाइ छ ।

धमाधम ज्वरो र टाउको दुख्ने लक्षणबाट विद्यार्थी बिरामी हुन थालेपछि बर्दिबास-६ का वडा अध्यक्ष पद्म आलेमगरले बुधबार नै बर्दिबास अस्पतालसँग समन्वय गरेर स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको बताए । अहिले केही बिरामीलाई कलेज नजिकका स्वास्थ्य क्लिनिकमा र केहीलाई बर्दिबास अस्पतालमै उपचार चलाइएको छ ।

परीक्षा स्थगन गर्न प्राकृतिक स्रोत व्यवस्थापन कलेजले पनि कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको डिनको कार्यालयलाई पत्र लेखिएको निमित्त क्याम्पस प्रमुख भुजेलले जानकारी दिए । विद्यार्थीको स्वास्थ्य अवस्थाबारे नगरप्रमुख र अन्य सरोकारवालाबीच संयोजन भइरहेको वडाध्यक्ष मगरको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस