चार जिल्लामा टेलिकमको फाइबर लाइन विस्तार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चार जिल्लामा टेलिकमको फाइबर लाइन विस्तार


२० भाद्र २०८०, बुधबार


धनकुटा । नेपाल टेलिकम धनकुटा शाखाले सेवा प्रवाह गरिरहेका पूर्वी पहाडका चार जिल्लामा अफ्टिकल फाइबरमार्फत द्रुतगतिको इन्टरनेट विस्तार थालेको छ । टेलिकमले धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरमा जिल्लासम्म एडिएसएसमार्फत क्षमता बढाएर ग्राहकलाई वायरलेस प्रविधिको ‘फोर जी’ सेवा तथा एफटिटिएच (अफ्टिकल फाइबर प्रविधि)बाट द्रुत गतिको इन्टरनेट प्रवाह गर्न थालेको हो । यसअघि टेलिकमले एडिएसएसबाट प्रवाह गरेको २० जिबिपिएसबाट एफटिटिएच इन्टरनेटअन्तर्गत कपर वायरबाट पाँच एम जिपिएससम्मको  इन्टरनेट सेवा तथा जिएसएम (टुजी, थ्रीजी र फोर जी) सेवा विस्तार गर्दै आएको थियो । 

हाल उक्त प्रविधिलाई स्तरोन्नति र जमिनमुनि बिछ्याइएको फाइबरमार्फत जिल्लासम्म एक सय जिविपिएसको मुख्य प्रसारण लाइन  पुगेपछि टेलिकमले अफ्टिकल फाइबरमार्फत ग्राहकलाई आवश्यकताअनुसारको द्रुत गतिको इन्टरनेट उपलब्ध गराउन थालेको हो । 

सेवाको स्तरोन्नति र विस्तारसँगै अब चार जिल्लाका नागरिकले सीमित इन्टरनेट चलाउनुपर्ने बाध्यता अन्त्य हुनाका साथै आफूले चाहेको स्पिड ९८,२५,८( एमबिपिएस) सम्मको सेवा लिन पाउने भएका छन् । कार्यालयका प्रमुख तथा वरिष्ठ इन्जिनियर सुमन आचार्यका अनुसार धनकुटा जिल्लाको हिले बजार, मूल घाट, छथरजोरपाटी गाउँपालिकाको सिन्धुवा बजार, साँगुरीगढी गाउँपालिकाको भेडेटार बजारमा फाइबरमार्फत इन्टरनेट सेवा विस्तार गरिएको छ । धनकुटाकै  पख्रिबास नगरपालिका र चौबिसे गाउँपालिकामा पनि चालु आर्थिक वर्षमा सेवा सञ्चालनमा आउने उनले जानकारी दिए ।

त्यस्तै सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार, धर्मदेवी नगरपालिकाको मुढेशनिश्चरेमा पनि इन्टरनेट विस्तार गरिएको छ । चैनपुर नगरपालिकामा यसै वर्षदेखि  काम सुरु गरिनेछ । अहिले सुनसरीको इटहरीबाट धनकुटाको हिले, तेह्रथुमको म्याङलुङ, पाँचथरको फिदिम र झापाको बिर्तामोडबाट पुनः इटहरीसम्म एक सय जिबिपिएस इन्टरनेट जडान भइसकेको छ । यसबाट कुनै एक स्थानको फाइबरमा क्षति भए तापनि अर्को रुटबाट सेवा सञ्चालन हुने भएकाले चार जिल्लामा इन्टरनेट सेवा दिगो हुने कार्यालयका प्रमुख आचार्यले जानकारी दिए ।

सेवा विस्तारसँगै हाल धनकुटामा दुई हजार छ सय २१ वटा राउटरमार्फत आठ हजार घरधुरीले अफ्टिकल फाइबरमार्फतको इन्टरनेट उपभोग गरिरहेका छन् । भोजपुरमा सात सय तीन राउटरमार्फत एक हजार पाँच सय घर धुरीले, सङ्खुवासभामा नौ सय ८० राउटरमार्फत दुई हजार घर धुरीले र तेह्रथुममा छ सय ७० राउटरमार्फत एक हजार पाँच सय घर धुरीले इन्टरनेट उपभोग गरिरहेको उनले उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस